जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार २०:११

रुसमा बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, आगामी साता दर्ता


काठमाडौं, साउन २४ । कोरोना भाइरसविरुद्ध लडिरहेका संसारका धेरै देशलाई पछि पार्दै रुसले आफूलाई सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने देशको सूचीमा राख्ने भएको छ । रुसले कोरोनाविरुद्धको भ्याक्सिनको लामो समयको प्रतिक्षा अब समाप्त भएको जनाएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार रुसले आगामी साता संसारकै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने योजना सार्वजनिक गरेको छ । रुसका उपस्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले रुसले १२ अगष्टमा कोरोना भाइरसविरुद्धको आफ्नो पहिलो भ्याक्सिन रजिष्ट्रर गर्ने जानकारी दिनुभएको हो । उन्फा सहरमा एक क्यान्सर केन्द्रको भवन उद्घाटन गर्न पुग्नुभएका ओलेगले अहिले कोरोनाविरुद्धको भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रहेको जानकारी दिनुभयो । अहिलेसम्मको नतिजाले आउँदो हप्ता नै यो भ्याक्सिन चिकित्सक, स्वास्थ्यकर्मी र जेष्ठ नागरिकलाई प्रयोग गर्नेगरी काम भइरहेको उहाँको भनाई छ ।

उपस्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार गामालेया रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले संयुक्तरुपमा यो भ्याक्सिन तयार गरेका हुन् । जुन १८ देखि यो भ्याक्सिनको मानव प्रयोग सुरु भएको थियो । तर, विश्व स्वास्थ्य संगठनले भने यो विषयमा कुनै पनि आधिकारीक जानकारी प्राप्त नभएको जनाएको छ । यसअघि रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासले रुसले छिट्टै कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने बताउनु भएको थियो । उहाँले त्यसको सुरुवात अक्टुबरदेखि नै हुने जानकारी पनि दिनुभएको थियो ।