जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १७:५६

उपत्यकाका मानिस नै सही तरिकाले लगाउँदैनन् मास्क : जनस्वास्थ्यविदले दिए कोरोनाबाट बच्न यस्तो सुझाव


काठमाडौं, साउन २५

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा सही तरिकाले स्वास्थ्यका मापदण्ड नअपनाएको अध्ययनले देखाएको छ । संक्रमणबाट जोगिन सर्वसाधरणले जनस्वास्थ्यका मापदण्ड नअपनाएको अध्ययनले देखाएको हो । ६ जनाको विज्ञ टोलिसहित ३९ जनाले गरेको अध्ययन २३ वटा सार्वजनिक स्थलमा बैक, मठमन्दिर,सार्वजनिक यातायात, तरकारी बजार, मालपोत कार्यालय शपिङमल लगायतका स्थानमा गरिएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ए (एनएचआरसी) ले जनस्वास्थ्य मापदण्ड कार्यान्वयनका सम्बन्धमा उपत्यकामा गरेको अध्ययनमा ७२.१ प्रतिशतले मात्रै मास्कको प्रयोग गरेको पाइएको जनाएको छ । परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले साउन ७ गते स्वास्थ्य मन्त्रालयले परिपत्र गरेअनुसार व्यक्तिगत र सार्वजनिक तहमा गरिएको अध्ययनमा मास्कको प्रयोग प्रभावकारी रुपमा नगरेको, सामाजिक दुरी कायम नगरेको, सेनेट्राइजको प्रयोग नगरेको तथा साबुन पानीले हात नधुने गरेको पाइएको जानकारी दिनुभयो ।

उहाँले जनमासमा मास्कको प्रयोग सही तरिकाले प्रभावकारी रुपमा प्रयोग नभएको पाइएको बताउनुभयो । ज्ञवालीका अनुसार व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा गरिएको सर्वेक्षणमा ७२.१ प्रतिशतले मात्रै मास्कको प्रयोग गरेको, १५.८ प्रतिशतले कपडाको मास्कको प्रयोग गर्ने गरेको पाइयो ।

यस्तै सार्वजनिक स्थानहरुमा २ हजार ७०३ जनामा गरिएको सर्वेक्षणमा ७२.६६ प्रतिशतले मास्कको सही प्रयोग गरेको र बाँकीले नाक नछोप्ने गरि लगाएको, चिउँडो मुनि लगाएको, हातमा झुण्डाएर हिड्ने गरेको पाइएको छ । यसैगरी संस्थागत तर्फ तरकारी बजार, शपीङमल, बैक, सार्वजनिक यातायात लगायतका स्थानमा सर्वेक्षण गर्दा अत्यन्तै कमले मात्रै जनस्वास्थ्य सुरक्षा अपनाउने गरेको पाइएको हो ।

३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । ६० प्रतिशत स्थानमा मात्रै साबुनपानीको व्यवस्था भएको तथा अस्पतालहरुको भान्छाघरमा सामाजिक दुरी कायम नभएको, ३० वटा सार्वजनिक यातायातमध्ये ५० प्रतिशत भन्दा कम यातायातमा मात्रै एउटा सिटमा एकजना मात्रै राखेको पाइएको ज्ञवालीले बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड नअपनाएको पाइएकाले जिम्मेवार निकायले कडाइ गर्नुपर्ने सुझाव दिनुभयो ।