जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १२:४१

कोटेश्वरमा किराना पसलबाट फैलियो कोरोना : १७ पुग्यो संक्रमित संख्या, अझै रिपोर्ट आउन बाँकी


काठमाडौं,साउन २६ । काठमाडौं महानगरपालिकाको कोटेश्वरस्थित असर्फी टोलमा कोरोना भाइरसको संक्रमित ह्वात्तै बढेपछि उक्त टोल नै सिल गरिएको छ। साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना पोजेटिभ देखिएपछि टोल नैसिल गरिएको हो ।

चिकित्सकहरुका अनुसार सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो। उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा थप कोरोना संक्रमित भेटिएका हुन । सो वडाका सदस्य हिरादेवी पोखरेलले दिएको जानकारीअनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा आइसोलेशनमा राखिएको छ ।

‘वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पुष्टि भएको छ, रिपोर्ट आउन बाँकी नै छ। संक्रमित बढ्ने देखिन्छ। थप नफैलियोस् भनेर एउटा गल्ली पूर्ण रूपमा सिल गरेका छौं। अरू गल्लीमा पनि आवागमन नगर्न भनेका छौ,’ ’ पोखरेलले भन्नुभयो । उहाँका अनुसार कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय मजदुरी गर्छन ।