जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १४:०४

कोरोनाको उपचारमा रातदिन खटेका अस्पताल प्रमुखलाई कालोमोसो दल्ने प्रयास, अर्का चिकित्सकको फुटाइयो गाडी


पर्सा, साउन २६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको उपचार गर्दागर्दै नारायणी अस्पतालका चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी समेत गरी ४५ जना संक्रमणमा परेका छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मी नै संक्रमणमा परेपछि नारायणी अस्पताल सिल गरिएको छ ।

तर, आइतबार दिउँसो स्थानीयको एउटा समूह आयो, जवरजस्ती अस्पताल भित्र छिर्‍यो, आकस्मिक कक्ष तोडफोड गर्‍यो, उपचारमा खटिएका चिकित्सकको पार्किङ गरेर राखेको गाडी फुटायो र चिकित्सक विरुद्ध चर्का नाराबाजी गर्‍यो । सोही समूहले मेडिकल सुपरीटेन्डेन डा. मदनकुमार उपाध्यायलाई कालोमोसो दल्ने भन्दै खोजी समेत गर्‍यो, भाग्यबस डा. हुलदंगा गर्ने समूहबाट जोगिनुभयो ।

नारायणी अस्पतालले आफ्नो मातहतमा लिएर चलाएको गण्डक अस्पतालको कोभिड–१९ टिम संयोजक डा. उदयनारायण सिंहको गाडी भने जोगिएन्, सिसा फुटाइए । ‘हामीले त रातदिन आफ्नो ज्यानको पर्वाह नगरी सेवा दिएका थियौँ तर त्यसबापत हामीमाथि नै हातपात र कालोमोसो दल्ने भन्दै भिड आइपुग्यो । यसले कोरोना विरुद्धको युद्धमा कसरी बिजयी हुन सकिएला ? ‘ नारायणीका मेसु डा. उपाध्यायले भन्नुभयो ।

गण्डक कोभिड–१९ का संयोजक रहनुभएका डा. सिंहले रातदिन सेवा दिइरहेको अस्पताल र चिकित्सकमाथि नै यसरी आक्रमणको प्रयास हुन्छ भने कसरी सेवा प्रवाह गर्न सकिन्छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । चिकित्सक संघ नारायणी शाखाको सचिव समेत रहनुभएको उहाँले आज २ बजेसम्म दोषीमाथि कारवाही, थप जनशक्ति र सुरक्षा उपलव्ध नगराईए आफूहरु सेवा दिन नसक्ने बताउनुभयो ।

मेसु डा. उपाध्यायका अनुसार पछिल्लो समय वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ । कोरोना समुदायस्तरमा फैलिएको अनुमान छ । संक्रमण यसरी छरियो कि उपचारमा सम्लग्न चिकित्सक तथा नर्सहरुलाई समेत यसले संक्रमण गर्दै लग्यो । नारायणी अस्पतालका मात्रै ४५ जना बढीमा संक्रमण भएपछि सेवा बन्द गर्नुको विकल्प भएन ।

यसरी घट्यो घटना

पछिल्ला केही दिन यता वीरगञ्जमा कोभिडको कारण मृत्यु हुनेको संख्या पनि बढ्यो । यता बन्द छ, खुलेका केही निजी अस्पतालले विरामी लिन अघि पीसीआर रिपोर्ट खोज्ने र यता र उता फर्काउने अवस्था भयो । बिरामी यता र उता गर्दागर्दै केहीको ज्यान समेत गयो । यसबाट स्थानीयबासी स्वभाविक रुपमा आक्रोशित भए ।

त्यसैमा केही अराजक तत्व मिसियो र भौतिक आक्रमणको प्रयास गर्‍यो । मृत्यु भएकोप्रति हामी पनि दुखित छौँ, तर यसमा हाम्रो दोष हो भनेर जो बुझिएको छ र भनिएको छ त्यो विल्कुल गलत हो । महामारीको बेलामा एक अर्कालाई सहयोग गर्नुपर्छ । सरकारी निजी दुबैले उसै गरी सेवा दिनुपर्दथ्यो । त्यो भएन । यहिबाट बाताबरण विग्रियो ।

यसैबीच सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आइतबार नारायणी अस्पतालमा घटेको घटनाको भत्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न सरकारसंग माग गरेको छ । गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीद्धारा जारी विज्ञप्तीमा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गरी गैर जमानति हिरासतमा लिएर कारवाही गर्न समेत माग गरिएको छ ।

यसैबीच घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघ नारायणीले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल घट्ने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती निकालेर अप्ठेरो परिस्थितिमा संयम हुन सबैलाई आग्रह गर्नुभएको छ ।

दोषीलाई पक्राउ गरी अबिलम्ब कानुन बमोजिमको हदैसम्म कारबाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै नारायणी अस्पतालमा भएको यस्तो दुःखद घटना अन्य कुनै स्वास्थ्य सेवा प्रदायकमा नदोहोरियोस् भन्ने सुरक्षाको प्रत्याभूति गराउन नेपाल चिकिसक संघ स्थानीय प्रशासनसँग आग्रह गर्दछ,’ घटनाको निन्दा र भत्र्सना गर्दै विज्ञप्तीमा लेखिएको छ ।