जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १४:५७

राष्ट्रिय ट्रमा सेन्टरका कर्मचारीमा देखियो कोरोना, निर्देशक सहित ४० बढी क्वारेन्टाइनमा जाने


काठमाडौं, साउन २६

राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्टोर किपरको जिम्मेवारी पाएका एक कर्मचारीमा ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । कर्मचारीलाई कोरोना देखिएपछि अस्पतालका निर्देशक डा. सन्तोष पौडेल सहित प्राइमरी कन्ट्याक्टमा रहेका ४० बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा जाने तयारीमा रहनुभएको छ ।

‘एक जना स्टाफलाई संक्रमण देखियो । उनी स्टोरमा काम गर्ने भएकाले प्रशासनिक कर्मचारीसंग प्रत्यक्ष सम्पर्क हुने भयो । हामी ४० बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा जाने तयारी गर्दैछौँ,’ डा. पौडेलले भन्नुभयो । उहाँले त्यसअघि प्राइमरी कन्ट्रयाक्टमा रहेका सबैको पीसीआरका लागि नमूना दिने योजना रहेको सुनाउनुभयो ।

उहाँले आफूहरु क्वारेन्टाइनमा गएपनि अस्पतालको सेवा सुचारु रहने बताउनुभयो । ‘अस्पतालको सेवा त अहिले जारी नै राख्ने योजनामा छौँ । प्रशासन तर्फका धेरै क्वारेन्टिनमा जानुपर्ने हो । मेडिकल तिरका खासै एक्सपोज भएको छैन् । त्यसैले सेवा जारी रहन्छ । त्यसअघि हामीले सबैको पीसीआर जाँच गराउँछौँ,’ उहाँले भन्नुभयो । संक्रमित कर्मचारीलाई टेकु पठाइएको छ ।