जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार ११:०३

मन्त्री ढकालले खोलिदिए स्वास्थ्य माफियाको पोल


काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताउनु भएको छ । परोपकार प्रसुती गृह थापाथलीको ६१ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दैं मन्त्री ढकालले सरकारले कोभिड—१९ विरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको तथ्य राख्नुभयो ।

‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पिसिआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ ? भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ,’ मन्त्री ढकालले भन्नुभयो । विरोधीहरुले विरोध गरेतापनि जनताको स्वास्थ्यको लागि सरकार कटिवद्ध भएको बताउँदै मन्त्री ढकालले सरकार स्वास्थ्यकर्मीले गरेको प्रयास सह्रानीय रहेको आफ्नो निश्कर्ष सुनाउनु भयो । कोभिड—१९ लाई राजनीतिक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै आफ्नै पार्टीका नेताहरुप्रति अप्रत्यक्ष रुपमा उहाँले असन्तुष्टी जनाउनु भयो । ‘सरकारको विरोध गर्नेहरुले यो कुरा बुझौ, कोरोनालाई ख्यालख्याल नठानौं । राजनीति जहिले गरे पनि हुन्छ,’ मन्त्री ढकालले भन्नुभयो, ‘विदेशमा ठूला—ठूला नेताको पनि मृत्यु भएको छ, हाम्रोमा पनि मन्त्रीदेखि मेयरसम्मलाई छोडेको छैन ।’

मन्त्री ढकालले सरकार सकारात्मक आलोचन ग्रहण गर्न तयार रहेको भन्दै विरोध गर्नेहरुले समस्याको निकास भन्दा असहजता चाहिरहेको बताउनु भयो । ‘स्वास्थ्यकर्मीहरु पवित्र काममा लाग्नुभएको छ । यो क्रम निरन्तर रहोस्, सबैलाई तपाईंहरुबाट सदवुद्धी मिलोस,’ मन्त्री ढकालले भन्नुभयो । उहाँले आफू निष्ठाको राजनीति गर्ने भएको हुँदा भ्रष्टाचारबारे कल्पना पनि नगर्ने बताउनु भयो । ‘जुन दिनसम्म राजनीति गर्छु । त्यो दिनसम्म म पैसा कमाउन लाग्दिन्, कमाउन लागेको दिन अब मैले राजनीति छाडें, कमाउन लागें भनेर सन्यास लिन्छु,’ मन्त्री ढकालले भन्नुभयो । आफूले छोटो समयमा नै स्वास्थ्य मन्त्रालय चिनेको बताउँदै मन्त्री ढकालले कसैको केही नखाइदिएको भएर आफूविरुद्ध नियोजित षड्यन्त्र गरिएको तथ्य पनि औल्याउनु भयो ।

‘मैले कसैको केही खाइदिन । त्यो बापत उनीहरुको व्यापार चौपट्ट भएपछि कू प्रचारमा लागे, म जहाँ गएर पनि यो भन्न सक्छु । सत्य तितो हुन्छ तर एक दिन सत्य ठहरिन्छ,’ मन्त्री ढकालले भन्नुभयो । उहाँले मन्त्रालयमा रहेको वेथिती सुधारमा लाग्न खोज्दै गर्दा कोरोनाले छेकेको जानकारी पनि दिनुभयो ।

मन्त्री ढकालले उठेदेखि रातिसम्म कोरोनाले नै खेद्ने गरेको अनुभव समेत सुनाउनु भयो । मन्त्री ढकालले कोभिडको पहिलो केस हङकङमा पठाएको स्मरण गर्दै अहिले ३२ वटा सरकारी ल्याव बनाएर १८ हजार ५ सय स्वाव परीक्षण गर्न सक्ने क्षमता विकास गरेको बताउनुभयो । त्यसका साथै ८ बटा ए लेभलका निजी ल्याबलाई पनि परीक्षण अनुमति दिइएको र ती ल्यावमा दैनिक ३ हजार स्वाव परीक्षण गर्न सकिने क्षमता रहेको जानकारी उहाँले दिनुभयो । उहाँले आवश्यक परे अव दैनिक २२ हजार पिसिआर परीक्षण गर्न सकिने क्षमता देशभर रहेको जानकारी पनि दिनुभएको छ ।