जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार २१:१६

कोरोनाविरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको घोषणा, आफ्नै छोरीमा प्रयोग गरेको दावी


काठमाडौं । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको सार्वजनिक घोषणा गर्नुभएको हो ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । राष्ट्रपति पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिनुभएको थियो । बिबिसीका अनुसार पुटिनले यो भ्याक्सिन आफ्नै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गर्नुभएको छ । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड १९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताउनु भएको छ ।

विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन । बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन । यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ । गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब ुमास भ्याक्सिनेसनु सुरु गर्ने बताएको थियो ।

रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ । कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमश ः अमेरिका, ब्राजिल र भारतमा रहेका छन ।