काठमाडौं, साउन २८ । नेपालमा कोरोना संक्रमितको संख्या बढदै जाँदा गम्भीर बिरामीको संख्या पनि ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जटिल खालको लक्षण भएका संक्रमितको संख्या बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढेको हो ।
मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ८८ जना संक्रमितको अवस्था गम्भीर रहेको छ । जटिल संक्रमितमध्ये ८५ जनाको आइसियुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको छ । कोरोना नियन्त्रणको थप उपाय अवलम्वन नगरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था भयावह हुने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
हालसम्म देशभर आइसियुको संख्या १ हजार १ सय ३४ र ५ सय ७६ भेन्टिलेटर रहेको छ । नेपालमा अहिलेसम्म २३ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन ।
प्रतिक्रिया दिनुहोस्