जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ११:४१

कोरोनाको अवस्था भयावह बन्दै : ९ दिनमा ३० संक्रमितको मृत्यु


काठमाडौं, साउन २८

कोभिड–१९ (कोरोना)को संक्रमणका कारण पछिल्ला दिनमा मृतकको संख्या निक्कै तिव्र गतिमा बढ्न थालेको छ । पछिल्लो ९ दिनमा मात्रै ३० दिनको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा यो संख्या निक्कै भयावह रहेको छ । एक सातामा मात्रै २७ जनाको मृत्यु भएको हो । हाल दैनिक तीन देखी पाँच जनासम्मको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । विशेषगरी दीर्घ रोगी र श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु बढि प्रभावित भएका छन् ।

विज्ञहरुले पनि लकडाउन खुकुलो भएपछि मृतकको संख्या बढिरहेको बताएका छन् । उनिहरुका अनुसार मानिसमा कोरोनाप्रतिको भय कम भएकाले यस्तो अवस्था आएको बताउछन् । मास्कको प्रयोगमा कमि, सामाजिक दुरी कायम नराख्ने र जथाभावी हिड्ने गरेका कारण पनि कोरोनाले भयावह अवस्था सिर्जना गरिरहेको विज्ञहरुले बताएका छन् ।

सरकारले पनि कोरोना नियन्त्रणका लागि कडा कदमहरु चाल्नुपर्ने उनिहरुको सुझाव छ । जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्न लगाउनु पर्नेमा उनिहरुको जोड छ । कोरोनाका कारण बुधबार विहानसम्म ४ जनाको मृत्यु भईसकेको छ ।

ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ ।