जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १४:२०

निराश, हतोत्साहित होइन देखेका सपना साकार पार्ने दिशामा अगाडी बढ्न युवालाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं, साउन २८

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले देखेका सपना साकार पार्ने दिशामा अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको छ । उहाले निराश, हतोत्साहित नभई देखेका सपना साकार पार्ने दिशमा अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले युवालाई देश विकासको सपना देख्न नछोड्न आग्रह समेत गर्नुभयो । ‘आज निराश, हतोत्साहित हुनु र सपना देख्न छोड्नु हुँदैन, देखेका सपना साकार पार्न अगाडी बढ्नु पर्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सुन्दर आकांक्षालाई मूर्त रूप दिन ध्यान केन्द्रित गर्नुपर्छ ।’

उहाले युवाको श्रम स्वदेश निर्माणमै केन्द्रीत गर्नुपर्नेमा समेत जोड दिनुभयो । ‘रोजगारीलाई स्वदेशमा सिर्जना गर्ने, सबैभन्दा बढी नवपरिवर्तनकारी युवावस्था विदेशमा गएर बिताउनु नपरोस्, यो ऊर्जाशील समय देशको विकासमा खर्चगर्न सकियोस्’, प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो, ‘जसको परिणाम नेपाल विकसित, आत्मनिर्भर देश बनोस् । हाम्रो देश नेपाललाई एक तिर्थस्थल नमूनाको रूपमा प्रस्तुत गर्न सकियोस् ।’

युवाका सपना साकार पार्न सरकारले उल्लेख्य कार्यक्रम लिएको बताउदै युवाको यथेष्ट सहभागिताको अपेक्षा गरिएको पनि उहाले उल्लेख गर्नुभयो । युवाहरू अगाडि बढ्न उत्प्रेरित गर्दै सरकारले पूर्णरूपमा समर्थन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । ‘आफूलाई जुन विषयमा केही गर्न सक्छु भन्ने विश्वास छ, त्यसमा अगाडि बढ्नुस्’, उहाले भन्नुभयो, ‘सरकार तपाईंहरूको साथमा छ ।’

प्रधानमन्त्रीले युवाहरूलाई कोरोना रोगका बारेमा पर्याप्त जानकारी लिन र यससँग जुध्न प्रभावकारी माध्यमको खोजी र अनुशरण गर्न आग्रह पनि गर्नुभयो । ‘हाम्रो देशले सम्वृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको छ। घोषणा गरेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो लक्ष्य प्राप्तिमा हामीले ध्यान दिनुपर्छ। यसका लागि हामीले विभिन्न लक्ष्यहरू तय गरेका छौं ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्वृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि विभिन्न नीति र संगठन तथा संस्थाहरू स्थापना गरिसकेको जानकारी दिनुभयो । देशका युवाले रोजगारीका अवसर र जीवनको खोजी गर्नुपर्ने बताउँदै प्राकृतिक सौन्दर्य र विविधताले युक्त भएको देश पछाडी पर्नु स्विकार्य नहुने उहाले उल्लेख गर्नुभयो ।