जनताटाइम्स समाचारदाता/काठमाडौं ।
रोल्पाका कृष्णबहादुर बोहोरा र चितवनकी कल्पना मुडभरी पौडेलबीचको चार बर्षको सम्बन्ध अत्यन्तै दुखद बन्यो । चार बर्ष लामो सम्बन्ध त्यहबेला बाहिर आयो, जतिबेला शनिबार राति काठमाडौंको गोंगबुमा बिभत्स हत्या भयो । फेसबुकबाट सुरु भएको कुराकानी र भेटघाट साथीमा मात्रै सिमित रहेन, प्रेममा बदलियो । प्रेमसँगै सारीरिक सम्पर्कसम्म पुग्यो । घरमै आउजाउ अनि बच्चाहरुकै साथमा अर्काे केठामा सम्बन्ध कायम भयो । अहिले बोहोराले यो सन्सार त्यागिसकेका छन भने उनकै हत्या अभियोगमा कल्पना प्रहरी हिरासतमा छिन ।
कसरी भयो यति क्रुर हत्या ?
अनुसन्धानमा संलग्न प्रहरीले अभियुक्तको बयान उधृत गर्दै जनताटाइम्सलाई दिएको जानकारीअनुसार आफूसँगै छोरीलाई पनि सेक्स गर्न खोजेपछि कल्पनाले बोहोराको हत्या गरेको बताएकी छन । किन त्यस दिन बोहोराको हत्याकै निर्णयमा कल्पना पुगिन त ? यो पाटो भने निकै गम्भीर रहेको प्रहरीको भनाई छ । अभियुक्तले दिएको बयानअनुसार शनिवार दिउसो ३ बजेतिर ‘म आज त्यतै बस्न आउँदै छु है,’ भन्दै बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पनालाई फोन गरे । फोनमै दही पनि लिएर आउनु है भन्दै कल्पनाले अराइन । त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई केही दिन आउदिनँ भन्दै निस्किए । उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्दै आएका थिए । गेष्ट हाउसबाट निस्किएर नजिकै एउटा पसलमा मदिरा सेवन गरेर बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठा पुगे ।
कल्पनाको आग्रहअनुसार दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए । झोला कल्पनाको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए । उनी पुग्नुअघि नै मासु पाकिसकेको थियो । पौडेलका छोराछोरीले आफ्नै कोठामा गएर मासुचिउरा खाए । अर्को कोठामा बोहरा र कल्पनाले भोड्का पिए । मदिराको नसामा बोहरा लठ्ठिँदै गए । नसा चढ्दै गएपछि बोहरा १५ बर्षीया छोरीमाथि पनि जाइलाग्न थाले । उनको यो हर्कत देखेर छोरी ‘ममी’ भनेर चिच्याइन तर उनले समाउन छोडेनन । त्यहाँबाट छोरी कोठातिर गइन ।
छोरीमाथिको दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन । केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए । त्यसपछि कल्पनामा क्रुर अपराधको योजना बन्यो । किला ठोक्ने हथौडा र खुकुरी (दाउ) ल्याइन । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक हथौडाले प्रहार गरिन् । हथौडाले हानेपछि बोहोरा एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ ।
प्रहरीमा दिएको बयानअनुसार हत्यापछि शौचालयको ढोकाको डिलमा लगेर पौडेलले घाँटी काटिन । घुँडामुनि दुवै खुट्टा छिनाइन । त्यसलाई प्लास्टिकमा हालेर नजिकै लगेर मिल्काएर कोठामै फर्किइन । तर, टाउको र खुट्टाबाहेक बाँकी रहेको शरीर सुटकेसमा हालेर लैजान खोज्दा एक्लै संभव भएन । त्यसपछि छोरीलाई घटनाबारे सबै कुरा जानकारी गराइन । कल्पनाकै आग्रहमा छोरीले शव व्यवस्थापनमा सघाइन । बाँकी शरीर कालो सुटकेसमा हालिन् । नाम्लोले बाँधेर छोरीसँगै फेरि निस्किइन । त्यसबेला बिहानको ३ बजिसकेको थियो । कोठामा फर्किएर दशीप्रमाण लुकाइन । अनि राती नै चितवनस्थित माइत भाग्ने योजना बनाइन । योजनाअनुसार राति नै चितवन टाँडीनजिकै माधवपुरमा रहेकी आमालाई फोन गरेर आफू आउन लागेको जानकारी गराइन भने चितवनमै भिनाजु नाता लगाउँदै एक व्यक्तिलाई आफूलाई लिन काठमाडौं आउन आग्रह गरिन । कल्पनाको आग्रहअनुसार एम्बुलेन्स चालक ती व्यक्ति आइतबार दिउँसो ४ बजे काठमाडौं आइपुगे । ६ हजार भाडा लिएर उनले पौडेल र उनका छोराछारीलाई माधवपुर पुर्याए ।
कल्पना निस्केको केही समयपछि घरभित्र पसेर प्रहरीले खानतलासी गर्यो । नजिकै बेवारिस स्कुटर देखेपछि खोज्दै जाँदा प्रहरी उनी बसेको कोठासम्म पुग्यो । कोठामा ताल्चा लागेपछि प्रहरीमा शंका उब्जियो । कोठाभित्र स्कुटरको चाबी फेला परेपछि घटनामा पौडेल नै संलग्न भएको निष्कर्षनजिक प्रहरी पुग्यो । प्रहरीसँगको बयानअनुसार विदेशमै रहँदा बोहोराको कल्पनासँग फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुकबाटै दुवैको सम्बन्ध गहिरिँदै गएपछि भेटघाट बाक्लिन थाल्यो । ‘पहिले पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउँथ्यो, मेरो टाउको अरूको नग्न तस्बिरमा राखेर फेसबुकमा हाल्थ्यो, त्यहीँबाट ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्पर्क राख्थ्यो,’ पौडेलको बयान उधृत गर्दै अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पौडेलले बोहराले छोरीसँग यौनसम्पर्क गर्ने मनसायले नजर लगाएको, आफ्नो नाममा नक्कली फेसबुक खोलेको, टाउको आफ्नो राखेर अरूकै नग्न तस्बिर जोडेर पटकपटक बेइज्जत गरेको, शारीरिक सम्पर्क गर्न नदिए ज्यान मार्ने धम्की दिएको लगायत कारणबाट आफू तनावमा रहेको र सोही कारण हत्या नै गरेको बताएकी छन । कल्पनाका अनुसार आफैंले चलाउने गरी बोहराले कल्पना शाहीका नाममा फेसबुक अकाउन्ट खोलेका थिए । कल्पना र बोहोराको यो घटनाले झस्काइरहने वीभत्स हत्या शृंखलालाई फेरि एक पटक सवैको सामू ल्याइदिएको छ ।
गोंगबूको यो वीभत्स हत्याले करिब तीन महिनाअघि सिरहाको लहानमा टाउको काटिएको अवस्थामा फेला पारेको शवको झल्को दिएको छ । गोंगबु र लहानका दुई वीभत्स हत्याको ‘मोडस अपरेन्डी’ भने १२ वर्षअघिको काठमाडौंमै भएको १९ वर्षीया ख्याति श्रेष्ठको क्रुर हत्यासँग मिल्दोजुल्दो छ । त्यतिमात्र होइन, रानीबारी हत्याकाण्ड, बडीखेल हत्याकाण्ड, गीता ढकालको हत्या, न्युरोडका पसले वा सीतापाइलाका सः मिल सञ्चालकको हत्यासँग मिल्दो देखिए पनि बोहराको हत्या संगठित अपराध नभएको प्रहरीको भनाई छ ।
यसले फरक परिस्थिति तर हत्याको शैली उस्तै देखिने घटना नेपाली समाजमा कसरी दोहोरिँदै छ भने त तथ्यलाई पुनः उजागर गरेको छ । ‘संगठित अपराधको पृष्ठभूमि नभएकाहरु पनि कसरी क्रूर हत्या गर्न अघि सर्दै छन् भनेर पनि देखाउँछ यो घटनाले,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनका अनुसार गत वैशाख ३० मा गते सिराहको लहान नगरपालिका–१७ का करिब ४० वर्षीय मोहम्मद सफिदको शव टाउको काटिएको अवस्थामा फेला पर्यो । प्रहरीले भोलिपल्ट शरीर फेला परेको स्थानबाट केही पर पोखरी छेउमा क्षतविक्षत टाउको भेट्टायो । १८ दिनपछि घटनास्थलबाट करिब ५ किलोमिटर पर बलान खोला छेउमा धारिलो हतियार फेला पर्यो ।
२०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षीया ख्याति श्रेष्ठ हराइन् । त्यसको दुई सातापछि ललितपुरको कार्यविनायकनजिकै टाउको र हातखुट्टा नभएको शरीरको भाग फेला पर्यो । हत्यापछि अपराधकर्म लुकाउन शव टुक्राटुक्रा पारेर फालिएको अनुसन्धानबाट पुष्टि भयो । क्रुर हत्याका मुख्य योजनाकार वीरेन श्रेष्ठ असार ७ गते सोह्रखुट्टेबाट पक्राउ परे । क्यासिनो खेल्दा लागेको ऋण तिर्न ख्यातिको अपहरण गरिएको र पछि हत्या गरी शव लुकाउन शरीर टुक्राटुक्रा पारिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । वीरेनले ख्यातिका परिवारबाट १० लाख फिरौती पनि लिएका थिए ।
२०७६ असार १५ मा भक्तपुरको चाँगुनारायण बस्ने ६० वर्षीया सावित्री भट्टराई आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा फेला परिन । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट उनकी छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुल्यो । ईश्वरीले प्रेमी मोहम्मद नौसादको सहयोगमा भारतबाट १२ लाख रुपैयाँ दिने सर्तमा भाडाका हत्यारा झिकाएर आमाको हत्या गरेको अनुसन्धानले देखाएको थियो । घटनाको ६ महिनापछि भक्तपुर जिल्ला अदालतले छोरी, उनका प्रेमीसहित घटनामा संग्लन अन्य दुईलाई जन्मकैदको फैसला सुनाइसकेको छ ।
भक्तपुरको जस्तै वीभत्स हत्या २०७५ भदौ ४ गते बबरमहल पनि भयो । फ्रान्सका लागि पूर्वनेपाली राजदूत ८० वर्षीय केशव झा ओछ्यानमै मृत फेला परे । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानाट थाहा लाग्यो, घरमै काम गर्ने मालीले पैसा नदिएको झोंकमा चक्कु प्रहार गरी हत्या गरेको तथ्य धेरै लामो अनुसन्धानपछि खुल्यो ।
यस्तै २८ माघ २०७६ मा ललितपुरको सानेपास्थित आफ्नै घरमा मुना कार्कीको रगताम्य अवस्थामा शव फेला पर्यो । शव छेवैमा घरेलु कामदार विजय चौधरी झुन्डिएको अवस्थामा फेला परे । व्यक्ति हत्याका क्रुर घटनाहरुको लामो शृंखलाले समाजमा व्याप्त अपराध मनोविज्ञान र प्रतिशोध साँध्न हत्यामै उत्रिने खतरनाक प्रवृत्ति देखाउँछ । २०६० असोज १६ गते ललितपुरको बडीखेलमा भानु नगरकोटीको परिवारका ५ सदस्यको वीभत्स हत्या भएको घटनाले पनि यही देखाउँछ ।

धारिलो हतियार प्रयोग गरी सामूहिक रूपमा वीभत्स हत्या गर्ने घटनाका अन्य धेरै उदाहरण छन् । गत वर्ष जेठ ७ मा पाँचथरको मिक्लाजुङमा ललितपुरको बडीखेलकै जस्तो वीभत्स घटना भयो । स्थानीय मानबहादुर माखिमले आफ्नी श्रीमतीसहित ७ जना आफन्तको धारिलो हतियार प्रयोग गरी हत्या गरे । घटनास्थलभन्दा करिब डेढ घण्टाको दूरीमा पुगेर पासो लगाई आत्महत्या गरे । आवेग प्रेरित सामूहिक हत्याको अर्को घटना गत जेठ २७ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्तिबजारस्थित एक भैंसी फार्ममा पनि भयो । फार्ममा कार्यरत झसेन्द्र सिञ्जालीले आफूलाई रिस उठाएकै कारण फरुवाले हानेर सबैको हत्या गरी भुसमा लुकेको बयान दिए ।
त्यसो त धारिलो हतियार प्रयोग गरी भएका क्रुर हत्याका घटनाको शृंखलामा २०५९ असार ३१ गते रानीबारीमा भएको इन्जिनियिर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्याकाण्ड पनि आउँछ । घरबेटीलाई मार्न गएका हत्याराको टोलीले बेकसुर श्रेष्ठ दम्पतीको हत्या गरेको रहस्य घटनाको १२ वर्षपछि २०७१ फागुन २९ गते केन्द्रीय अनुसन्धान ब्युरोले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेपछि खुल्यो ।
२०६३ पुस २० गते काठमाडौंको सीतापाइलामा सः मिल सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्र्षीय नातिकाजी सुवेदी र उनकी पत्नी सानु सुवेदीको पनि खुकुरी प्रहारबाट घरभित्रै हत्या भयो । सुवेदीका १५ वर्षीय छोरा विलभ सुवेदीमाथि पनि खुकुरी प्रहार गरेका थिए । तर भाग्यले उनी लामो उपचारपछि बाँचे । घटनाको १४ वर्षपछि प्रहरीले नातिकाजीकै सः मिलमा काम गर्ने सर्लाही घर भएका जेके भनिने जयकिशोर साहलाई पक्राउ गर्यो । अर्का अभियुक्त प्रताप राना अझै फरार छन् । असार २९ गते साह पक्राउपछि मात्रै घटनाको रहस्य खुल्यो । साहले नातिकाजीले गाली गरेको र त्यसैको बदला साँध्न हत्या गरेको बयान दिएपछि सवै चकित परे ।













प्रतिक्रिया दिनुहोस्