जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १४:११

वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा पनि कोरोना पुष्टि, परिवार सबैको रिपोर्ट पोजेटिभ


काठमाडौं, साउन २९

वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको अस्पताल निर्देशक डा. केदार सेन्चुरीले बताउनुभएको छ । मंगलबारसम्म इमरजेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा नर्सको परीक्षण गरिएको थियो ।

निर्देशक डा. सेच्नुरीले भन्नुभयो, ‘खासमा उहाँ (नर्स) को श्रीमानमा संक्रमण देखिएको रहेछ । त्यसपछि शंका लागेर उहाँको पनि परीक्षण गर्यौँ संक्रमण पुष्टि भयो । अहिले सुन्दैछु उहाँका दुई जना छोराछोरी रहेछन् उनीहरुमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।’ आकस्मिक कक्षको नर्समा संक्रमण भएपनि अहिलेसम्म सेवा सुचारु रहेको बताएको छ ।

‘हामीले सरसफाईमा विशेष ध्यान दिएकै छौँ । हिजोसम्म इमरजेन्सी चलिहाल्यो । उहाँ अस्तीदेखि आउनु भएको छैन। त्यसैले अहिले बन्द गरेका छैनौँ । तर क्लोज कन्ट्याक्टमा रहेका अरु स्टाफहरुलाई क्वारेन्टाइनमा पठाउने र पीसीआर परीक्षण गर्ने काम थालेका छौँ,’ डा. सेन्चुरीले भन्नुभयो । वीर अस्पतालमा यसअघि तीन चिकित्सक र एक सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।