जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १६:२६

२४ घण्टामा थपिए ५ सय २५ कोरोना संक्रमित


काठमाडौं, साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका ३८ वटा प्रयोगशालामा ९ हजार ८५९ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुलसंख्या २४ हजार ९ सय ५७ पुगेको छ । कुल संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना कोरोना जितेर घर फर्किएका छन । जसमध्ये १०९ जना पछिल्लो २४ घण्टामा डिष्चार्ज भएका हुन ।

प्रवक्ता गौतमका अनुसार आजसम्म ४ लाख ८३ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म ३ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने संक्रमित सून्य भएको जिल्ला ५ रहेको छ । देशभरका क्वारेनटिनमा १४ हजार ७६९ जना रहेका छन् । भने होम क्वारेनटिनमा ४ सय ६६ जना रहेका छन् ।