जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १६:३२

देशभर २४ घण्टामा थपिए ५९४ कोरोना संक्रमित, जम्मा संख्या २५५५१ पुग्यो


काठमाडौं, साउन ३०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर थप ५९४ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा देशभरका ३८ वटा प्रयोगशालामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

आज देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेको छ । उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ११९ संक्रमित थपिएका छन् । उहाँले काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना सहित देशभर ५९४ लाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । हाल क्वारेन्टिनमा १४ हजार ६३८ बसिरहेका छन् । पछिल्लो २४ घण्टामा २४० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।