जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १४:२५

पर्सामा ह्वात्तै बढे कोरोना संक्रमित : एकै दिन थपिए ६ चिकित्सकसहित १५३ जना संक्रमित (सूचीसहित)


काठमाडौं, भदौं २ । पर्सामा एकै दिन १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।

स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा कोरोना संक्रमण देखिएको छ । बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिनुभयो । यस्तै टेकुकै प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगन्ज ११ श्रीपुर विद्यापिठ माविमा स्वाब दिएका मध्ये ५७ जना र त्रिजुद्ध माविमा स्वाब दिएका मध्ये ११ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिनुभयो ।

ठाकुरका अनुसार बीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पनि पर्साकै ५५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५५ जनामध्ये सबैभन्दा बढी पर्साको बहुदरमाइ नगरपालिकाका रहेका छन । सो नगरपालिकाका २५ जनामा संक्रमण देखिएको हो । बहुदरमाइ नगरपालिका ४ का मात्रै २० जना तथा वडा नम्बर ५, ६ , ७ , ८ र ९ का १/१ जना रहेका छन् ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३० गते बहुदरमाई नगरपालिकाको स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएकामध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका ५ र वडा प्रहरी कार्यालय वीर्ताका २ गरी ७ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मूर्ती चोकका ८ जना, वीरगन्जको छपकैयका ६ जना, वीरगन्ज ४ वीर्ताका ३ जना, नेशनल मेडिकल कलेजका २ जना, वीरगन्ज ८, ११, १४ र १६ का १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिनुभयो । सोमबार राति १५३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जनाएअनुसार साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जना संक्रमित थपिएका छन ।