जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १५:०४

कार्यबहाक अध्यक्षको नियुक्तिलगत्तै कार्यालय बन्द गरेर हिडे प्रेस काउन्सिलका पूर्वपदाधिकारी


काठमाडौं, भदौ २ । प्रेस काउन्सिल नेपालमा नयाँ कार्यबहाक अध्यक्ष नियुक्त भएको भोलिपल्टै पुराना पदाधिकारीले सात दिनका लागि कार्यालय बन्द गरेर हिडेका छन । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले कास्की निवासी पत्रकार तथा अभिबक्त दुर्गा भण्डारी पौडेललाई कार्यबहाक अध्यक्ष नियुक्त गरेको भोलिपल्ट आज काउन्सिलका निवर्तमान कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बैठक राखेरै कार्यालय बन्द गर्ने निर्णय गर्नुभएको हो ।

काउन्सिका सदस्य गोपाल बुढाथोकले बैठक बसेर नै सात दिनका लागि प्रेस काउन्सिल बन्द गरिएको जनताटाइम्सलाई जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रेस काउन्सिल सात दिनका लागि बन्द गर्ने निर्णय भएको जानकारी गराउनु भएको छ । कोरोना जोखिम बढेको कारण कार्यालय बन्द गर्ने निर्णय भएको बुढाथोकीले बताउनु भयो । यद्यपी कुन कर्मचारी वा सदस्य कोरोनाको जोखिममा रहेको भन्ने जानकारी कसैलाई दिइएको छैन ।

काउन्सिलमा नियुक्त भएका अध्यक्ष भवानी बराललाई अदालतले काम गर्न नदिएपछि हालसम्म कार्यबहाक अध्यक्ष रहनुभएका श्रेष्ठलाई सदस्यम मात्र कायम गरी मन्त्रिपरिषदले भण्डारीलाई कार्यबहाक तोकेको हो । तर श्रेष्ठले आज कार्यबहाक अध्यक्षकै हैसियतमा कार्यालय नै बन्द गर्ने निर्णय लिनुभएको हो । काउन्सिलको सो निर्णयसँगै कार्यालयमा ताला लागेको छ । कर्मचारीहरु पनि हिडेका छन । सरकारले पछिल्लो समय काउन्सिलको रिक्त दुई सदस्यमा भण्डारी र दिपक पाण्डेलाई नियुक्त गरेको थियो । सदस्यमा नियुक्तमध्ये भण्डारीलाई मन्त्रिपरिषदले कार्यबहाक अध्यक्षको जिम्मेवारी पनि दिएको हो ।

प्रेस चौतारी नेपालका पहिलो महिला पदाधिकारी भण्डारी झण्डै तीन दशक पत्रकारितामा आवद्ध हुनुहुन्छ भने सदस्य पाण्डे पनि तीन दशक पत्रकारिता क्षेत्रमा बिताउनु भएको छ । काउन्सिलका निवर्तमान कार्यबहाक अध्यक्ष श्रेष्ठ झण्डै दुई दशकदेखि सो संस्थामा सदस्य तथा कार्यबहाक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । सञ्चारमन्त्रालयको सल्लाहकार भएपछि पनि श्रेष्ठ लगातार प्रेस काउन्सिलको सदस्य रहँदै आउनु भएको छ ।