जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १६:४५

एक कोरोना संक्रमित फेला पार्न राज्यको एक लाख ४ हजार रुपैयाँ खर्च


काठमाडौं, भदौ ५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कोरोना संक्रमित व्यक्ति पत्ता लगाउनका लागि एक लाख चार हजार रुपैयाँ खर्च लाग्ने जानकारी दिएको छ । अहिलेसम्म पिसिआर टेष्टमा भएको खर्चको विवरण दिदै यो निक्कै खर्चिलो भएको बताएको हो ।

सरकारले प्रतिव्यक्ति पिसिआर टेष्टमा ५ हजार ५ सय रुपैयाँ खर्च गर्दै आएको छ । जसअन्तर्गत शुक्रबारसम्म देशभरीबाट ५ लाख ७९ हजार ८९९ जना पिसिआर टेष्ट गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका अनुसार पिपिई बाहेक ल्याब टेष्टमा मात्र ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भईसकेको जानकारी दिनुभयो ।

त्यत्तिको संख्या टेष्टबाट हालसम्म ३० हजार ४८३ जना पोजेटिभ भेटिएका छन् । जसले गर्दा एउटा व्यक्ति पोजेटिभ भेट्न १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । यसैगरी आइसियुमा राख्नुपरेमा थप खर्च हुने उहाले बताउनु भयो । आइसियुमा ३० दिन राख्नुपर्यो भने एक व्यक्ति बराबर ४ लाख ५० हजार रुपैयाँ तिनुपर्ने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उहाले यो टेष्ट निक्कै महंगो भएकाले सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले मिचिमिचि हात धुन तथा स्यानेटाइजरको प्रयोग गर्न सबैसँग अपिल समेत गर्नुभयो । साथै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन समेत आग्रह गर्नुभयो ।