जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १०:००

मलामीमा कोरोना संक्रमण देखिएपछि सिंगै गाउँ त्रसित : परिवारका सदस्यदेखि पण्डितसम्म संक्रमित


बुटवल, भदौ ६ । कोरोना महामारीका बेला कसैको मृत्युमा मलामी जानु कति जोखिम र त्रासदीपुर्ण हुन्छ भन्ने घटना रुपन्देहीमा देखिएको छ। रूपन्देहीको बुटवलमा क्यान्सरबाट पीडित एक बिरामी महिलाको मृत्यु भएपछि मलामी गएका सबैमा कोरोना संक्रमण देखिएपछि अहिले गाउँभरि त्रास फैलिएको छ। परिवारका सदस्यदेखि अन्तिम संस्कार गराएका पण्डितसम्म संक्रमित भएपछि अहिले बुटवलमा त्रास छाएको छ।

प्रहरीका अनुसार साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ती महिलाको मृत्यूपछि अन्तिम संस्कार गरिएको थियो । मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले अस्पतालले स्वाब संकलन नगरी शव पठायो।

अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिबारले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गर्यो । सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले मलामी गए। तर दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। रुघा लाग्ने, ज्वरो आउने र पखाला लाग्ने हुन थालेपछि देवर शंका लागेर परीक्षण गर्न गए। साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।

मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूमा त्रास फैलियो। बुटबल उपमहानगरपालिका मेयर शिवराज सुवेदीका अनुसार परीक्षण गराउँदा उनीहरुमा पनि पोजेटिभ देखियो । ‘उक्त दिन करिब ४५ जना मलामी गएको हाम्रो कन्ट्याक्ट ट्रेसिङबाट पाइएको छ, बुटवल उपमहानगरपालिकाको परीक्षणमा मात्र १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ, अन्य केहीले निजीमा गराउँदा पनि पोजेटिभ आएको छ,’ मेयर सुवेदीले भन्नुभयो ।

सुरुमा नगरले नमुना परीक्षण गर्दा देवरमा पोजेटिभ आयो अनि परिवारलाई अन्तिम संस्कारमै सजग हुन भनिएकाले समुदायमा फैलिएर व्यापक हुनसक्ने अवस्थाबाट बँचेको उहाँको भनाई छ । मृतकका देवर स्थानीय नेता भएकाले उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको थियो । ‘मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने यकिन भइसकेको छैन । मेयर सुवेदीका अनुसार यसको खोजी भइरहेको छ । उहाँले मलामीमा सहभागी भएर काठमाडौ पुगेका एक व्यक्तिमा समेत पोजेटिभ पाइएको जानकारी दिनुभयो ।

वुटवलमा अहिले १ सय ४४ जना संक्रमित रहेका छन् । यीमध्ये ३० जना ती महिलाको मलामीमा सहभागी भएका व्यक्ति हुन । ती महिलाको अन्तिम संस्कारमा सहभागी भएका पण्डितसम्म सक्रमण देखिएको मेयर सुवेदीले जानकारी दिनुभयो । ‘मृतकका परिवार सबैमा संक्रमण देखिएको छ, ७८ वर्षकी सासुमा समेत पोजेटिभ आएको छ,’ मेयर सुवेदीले भन्नुभयो । उहाँका अनुसार मृतकका श्रीमान, छोरा, ज्वाइँ, आमा तथा छोरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देवरतर्फ चार जनामा संक्रमण पुष्टि भएको छ। एक जना ज्वाइँलाई समेत कोरोना पुष्टि भएको छ । सोही कारण बुटवलमा त्रास छाएको छ ।