जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १२:२६

तीजको दरसहित नाचगान गरेपछि आयोजक महिलामै कोरोना संक्रमण पुष्टि, टोलवासी सवै स्तब्ध


काठमाडौं, भदौं ६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलमा तीजको दर खाने कार्यक्रम आयोजना गरेकै घरकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब दिएर तीजको दर कार्यक्रम आयोजना गरेकी सयपत्री टोलकी ३० वर्षीया महिलामा शुक्रवार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाको तीनव टै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाए पनि उलंघन गर्दै ती महिलाले दर खाने कार्यक्रम आयोजना गरेकी थिइन । प्रशासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गर्दै सतर्कता अपनाउन भोजभतेर लगायत सामूहिक जमघट समेत निषेध गरेपनि संक्रमित ती महिलाले आफूमा कोरोना पुष्टि हुनअघि घरमै तीजको दर आयोजना गरेकी थिइन् ।

झापा स्थायी ठेगाना भएकी ती महिलाको घरमा निषेधाज्ञा विपरीत आयोजना गरिएको दरभोजमा टोलवासी सबै महिलालाई निम्त्याइएको थियो । भोजमा ५० भन्दा बढी महिला तथा आफन्तजन सहभागी भएका थिए । विभिन्न समूह तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएकी ती महिलाले केहीदिन अघि पीसीआरका लागि स्वाब दिएकी थिइन ।

घरमा आयोजना गरेको केही घण्टापछि उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । दर भोज आयोजकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि सहभागी हुने टोलका सबै स्तब्ध भएका छन् । संक्रमित महिलालाई घरमा छुट्टै राखिएको छ । संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको सो नगरपालिकाले जनाएको छ ।

(तस्विर : जनता टेलिभिजनबाट साभार)