काठमाडौं, भदौ ६ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । सर्वसाधरणले सरकारले तोकेको मापदण्ड पालना नगर्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्यहरु ठुलो संख्यामा कोरोना संक्रमणको शिकार हुनुपरेको हो ।
तीनवटै सुरक्षा निकायले दिएको जानकारीअनुसार हालसम्म १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ सय २७ जना सरक्षाकर्मी एक्टिभ संक्रमित रहेका छन् भने ५ सय ५० जना कोरोना जितेर निको भएका छन् । संक्रमितको सूचीमा नेपाल प्रहरी सवैभन्दा अगाडि रहेको छ । नेपाल प्रहरीमा हालसम्म ८ सय १ जना संक्रमित भएका छन । संक्रमितमध्ये ५ सय ७ सक्रिय संक्रमित छन भने २ सय ९४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै सशस्त्र प्रहरी बलमा ३ सय ९२ कुल संक्रमित भएका छन । जसमध्ये २ सय ३० सक्रिय संक्रमित छन भने ६२ जनाले कोरोना जितेका छन । यसैगरी नेपाली सेनामा २ सय ८४ जना संक्रमित भएका छन । जसमध्ये १ सय ९० सक्रिय संक्रमित रहेका छन भने ९४ जना कोरोना मुक्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यलय, उपत्यका र भारतसँग सीमा जोडिएका क्षेत्रहरु सबैभन्दा बढी प्रभावित बनेका छन । उहाँका अनुसार प्रहरी प्रधान कार्यालयमा मात्र संक्रमितको संख्या १ सय ७२ पुगेको छ भने उपत्यकामा ६५, प्रदेश १ मा २८, प्रदेश २ मा ६५, वागमती प्रदेशमा ४८ ,गण्डकी प्रदेशमा ४२, प्रदेश ५ मा ६५, कर्णालीमा ११ र सुदूरपश्चिममा १० जना सक्रिय संक्रमित रहेका छन ।
सशस्त्र प्रहरी बलमा दुई नम्बर प्रदेश र वाग्मती प्रदेश बढी प्रभावित भएका छन । यस्तै सेनामा प्रदेश नम्बर दुई र प्रदेश नम्बर ५ बढी प्रभावित भएको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्वभ पौडेलले जानकारी दिनुभएको छ । पछिल्लो समय सुरक्षा निकयमा कोरोना संक्रमण बढन थालेपछि तीनओटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन । नेपाली सेनाले आफ्नै आइसोलेशन र क्वारेन्टिनमा राख्ने ब्यवस्थासमेत मिलाएको छ ।













प्रतिक्रिया दिनुहोस्