जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १६:०४

२४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो


काठमाडौं, भदौ ८

पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको  प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ ।

निको हुनेको संख्या १८ हजार ८०६ रहेको छ । पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमध्ये १३८ जना आइसीयू र १५ जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा रहेका छन् ।