जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ११:३५

कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु


काठमाडौं, भदौ १०

कोरोना संक्रमणका कारण बुधबार विहानसम्म थप ८ जनाको मृत्यु भएको छ । ८ मध्ये ७ जनाको मंगलबार राति नै उपचारका क्रममा विभिन्न अस्पतालमा निधन भएको हो भने एक जनाको बुधबार विहान निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ । मृतक कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४५ बर्षीय पुरुष हुन् । सुरुमा धनगढीकै निजी निसर्गमा अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

मंगलबार राति नै बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए । ‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो’,प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भन्नुभयो ।

त्यसैगरी नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जानकारी दिएको छ । ति पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए । यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको थियो ।

विराटनगरका दुई निजी अस्पतालमा उपचारत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्युभएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित विराट मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको मंगलबार कोरोना पोजेटिभ आएको थियो । उहाँलाई मंगलबार दिउँसो नै भर्ना गरिएको विराटका कोभिड–१९ आईसोलेशनका इन्चार्ज डा.पुरुकोइरालाले जानकारी दिनुभयो । उहाँको अवस्था क्रिटिकल नै थियो, डाक्टर कोइरालाले भन्नुभयो–भेन्टिलेटरमा राखेसँगै रिपोर्ट पनि आयो र पोजेटिभ देखिएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेशनमा भर्नाको तयारी भईरहेकै बेला आकस्मिक कक्षमै मृत्यु भएको हो । मृतक महिलालाई निमोनिया भएको थियो । शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रक्रिया बढाइएको डाक्टर कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी न्यूरो अस्पतालमा साउन ३१ गते भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राती ११ बजेतिर मृत्यु भएको हो । अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएको थियो ।

क्रिटिकल बिरामीमा केहि लक्षण जस्तो देखियो, संयोजक बस्नेतले भन्नुभयो–त्यसपछि स्वाब संकलन गरेका थियौं, भदौ ७ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो । बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि न्यूरोको आईसोलेशन विभागमा भेन्टिलेटरको सुविधासहित सारिएको बस्नेतले बताउनुभयो ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने बताइएको छ । महिलाको परिवारका सात सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको छ ।