काठमाडौं, भदौ ११ । चिकित्सकहरुले भान्छामा प्रयोग हुने विभिन्न खाले मसलाहरु कोरोनासँग लड्ने अचुक औषधिका रूपमा काम गर्न सक्ने बताएका छन ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामआधार यादवले भान्छामा प्रयोग हुने मसलाहरु कोरोनाको अचुक औषधी रहेको बताउनु भएको हो । यादवका अनुसार भान्छामा प्रयोग गर्दै आएका सुँठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायतको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउँछ । बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा काठमाडौंमा आयोजित एक कार्यक्रममा डा यादवले जडिबुटीका प्रयोगले कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो ।
विशेषगरी उमेर पुगेका पाका व्यक्ति र दिर्घ रोगीहरूलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृतसमान हुने पनि उहाँले जानकारी दिनुभयो । गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा गलत रहेको पनि उहाँले औंल्याउनुभयो । त्यसैगरी कोरोना लाग्दा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने यादवको भनाइ छ ।
कोरोना पोजिटिभ देखिएका बिरामीसँग भौतिक दूरी कायम राखे पनि भावनात्मक दूरी भने कायम राख्न हुने पनि उहाँले जानकारी दिनुभयो । ‘उनीहरूलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सधैं मनोबल उच्च राख्नुपर्छ,’ यादवले भन्नुभयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भएको बताउँदै सकेसम्म फ्रिजमा राखेको खानेकुरा नखाने, ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिशतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।
कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग व्यापक बनेको छ । तर घर र कार्यालयमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नुपर्ने सुझाव पनि यादवले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्