जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १२:५७

कोरोना : गर्भवतीसहित थप ७ जनाको मृत्यु


काठमाडौं, भदौ ११

कोरोना सङ्क्रमणका कारण विहिवार विहानसम्म एक गर्भवतीसहित थप ७ जनाको मृत्यु भएको छ । पर्सामा तीन, बुटवलमा दुई तथा पोखरा र ललितपुरमा एक\एक जना गरी थप ७ जनाको ज्यान गएको हो ।

बाराको हर्दिया–४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका–१४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका–१ का ५० वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह–प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।