जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १५:२८

उपत्यकाका कोरोना संक्रमितलाई राख्न ९ हजार बेड तयार हुँदै


काठमाडौं, भदौ १२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा बढि रहेको कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गर्न आउँदो हप्ताभित्र करीब ९ हजार बेड तयार गर्ने भएको छ । मन्त्रालयले कुल बेडमध्ये करीब २ हजार लक्षण भएका संक्रमितको उपचार गर्न र बाँकी सात हजार लक्षण नभएका संक्रमितलाई आइसोलेट गर्न प्रयोगमा आउने खालको हुने बताएको हो ।

मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) का प्रमुख डा. गुणराज लोहनीले सरकारी तथा निजी अस्पताल र अन्य भवन प्रयोगगरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारिएको बताउनुभयो । उहाँका अनुसार लगभग ७० प्रतिशत बेड प्राप्त भइसकेको र बाँकी बेडको लागि आवश्यक अनुमगन तथा तयारीहरु भइरहेको छ ।

मन्त्रालयका अनुसार लक्षण नभएका संक्रमितहरुलाई राख्न अहिले नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा २०० बेड तयारी अवस्थामा रहेको छ । यसलाई तीन सय सम्म पुर्याउने योजनामा छ । यस्तै कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० बेड तयारी अवस्थामा छ । इचङ्गुनारायणमा रहेको आपतकालिन भवनमा ५०० बेड, यति अस्पतालमा ५० बेड तयारी अवस्था रहेको छ ।

मन्त्रालयले जाउलाखेलमा रहेको स्टाफ कलेजमा १००, बालाजुस्थित जनमैत्री अस्पतालमा ३००, बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा १०० र कान्तिपुर अस्पताल तिनकुनेमा ५० बेडको आइसोलेसन तयार गरी लक्षण नभएका संक्रमितलाई राख्ने तयारी गरेको छ ।

यता लक्षण भएका कोरोना संक्रमितलाई अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल (युनिफाइड अस्पताल) मा राखिएको छ । वीर अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरी अस्पतालमा पनि आइसोलेसन थप गरी लक्षण भएको संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मेघा अस्पतालमा ५० बेड, नेपाल मेडिकल कलेजमा १०० बेड, केएमसी दुवाकोटमा १०० बेड, किष्ट मेडिकल कलेजमा १०० बेडबाट सेवा दिने गरी सम्झौँता गरिसकेको मन्त्रालयले जनाएको छ । आवश्यकताको आधारमा थप केही निजी अस्पतालसंग समेत सम्झौता गर्ने योजनामा मन्त्रालय रहेको छ ।