जनता टाइम्स

१३ भाद्र २०७७, शनिबार ११:१६

कोरोनाबिरुद्धको मोडेर्ना खोपले दियो सुरुवाती चरणमै आसालाग्दो नतिजा : वृद्धवृद्धामा बढ्यो प्रतिरोधी क्षमता


काठमाडौं, भदौ १३ । अमेरिकाको मोडेर्ना कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको बारेमा निकै सकारात्मक खबर आएको छ । तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको सो खोपले सुरुवाती समयमै आसा लाग्दो नतिजा दिएको हो ।

अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार यो खोपले बृद्ध बृद्धाहरुमा रोगप्रतिरोधी क्षमता बढाएको छ । मोडेर्नाले जनाएअनुसार ५६ देखि ७० बर्षका १० जना र ७१ बर्ष भन्दा माथीका १० जनालाई परीक्षणमा सहभागी गराइएको थियो । सबैलाई २८ दिनको अन्तरमा १०० एमजीको डोज दिइएको थियो । परीक्षणमा सहभागीहरुको शरीरमा न्युट्रिलाइजिङ एन्टिबडीको राम्रो विकास भएको देखिएको छ । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसलाई जित्न यो एन्टिबडी अत्यन्तै आवश्यक हुन्छ ।

परीक्षणमा सहभागी स्वयंसेवकहरुको शरीरमा देखिएको एन्टिबडी कोरोना संक्रमणपछि निको भएका मानिसहरुमा भन्दा बढी रहेको सो कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो खोप लिने स्वयंसेवकहरुमा कुनै पनि गम्भीर खालको असरहरु देखिएन । केहीलाई हल्का टाउको दुख्ने र थकानको महसुस भए पनि दुई दिनमै ठिक भएको कम्पनीले जनाएको छ ।

अमेरिकामा थुप्रै खोपहरुमाथि अनुसन्धान चलिरहेको छ । यसमध्ये मोडेर्ना कम्पनीको खोपलाई उत्कृष्ट स्तरमा राखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओका अनुसार हालसम्म कुल १७० वटा खोपहरुमाथि अनुशन्धान र परीक्षण चलिरहेको छ ।