काठमाडौं, भदौ १४
सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा तिनुपर्ने शुल्क १ हजार १ सय रुपैयाँले घटाएको छ । स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी नयाँ शुल्क बढीमा ४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ थियो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले परीक्षणका लागि आवश्यक सरसामानको मूल्य घटेसंगै परीक्षण शुल्क समायोजन गरिएको बताउनुभयो ।
‘परीक्षणका लागि चाहिने किटहरु पहिले विश्वबजारमै महंगो थियो तर अहिले सस्तिदै गएको छ । यो अवस्थामा शुल्क पनि समायोजन गर्नुपर्ने देखियो र हामीले नयाँ परीक्षण शुल्क ४ हजार ४ सय तोकेका छौँ,’ उहाँले भन्नुभयो । मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्