जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १६:३०

२४ घण्टामा थपिए अहिलेसम्मकै सवैभन्दा बढी कोरोना संक्रमित, १२ सय २१ जनामा संक्रमण पुष्टि


काठमाडौं, भदौ १४

पछिल्लो २४ घण्टामा देशभर थप १२२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ८२ हजार हजार ३४३ जनाको पीसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १२२१ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप २६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार ८२२ पुगेको छ । यो ५४ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ६ हजार ९०६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ७९७ रहेको छ ।