जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार ११:३७

उपत्यकामा दैनिक स्वाब परीक्षण बढाउदै सरकार, अहिले यति हुदैछ परीक्षण


काठमाडौं, भदौ १५

उपत्यका अहिले कोरोना संक्रमणबाट आक्रान्त बनेको छ । दैनिक संक्रमितको संख्या बढ्दो देखिएका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अहिलेसम्म ५ हजार ४२६ जना संक्रमित फेला परेका छन् ।

पछिल्ला केही सातामा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । लकडाउन खुलेपछि राजधानी भित्रिएकाबाट कोरोना सरेको आशंका गरिएको छ । कोरोना संक्रमित बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा काठमाडौंमा पिसिआर टेष्टको संख्या बढाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत रहनु भएका मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले संक्रमितको कन्ट्याक्टमा आएकाको परीक्षण बढाएकाले थप संक्रमित भेटिएको बताउनु भयो । उहाले धेरै मान्छेमा संक्रमण देखिनु भनेको ट्रेसिङको दायरा पनि बढ्नु भएको स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यकामा अझै पनि परीक्षणको संख्या उल्लेख्य हुन नसकेको भने उहाले स्विकार गर्नुभयो ।

‘कन्ट्याक्ट ट्रेसिङ भएअनुसार परीक्षण अझै हुन सकेको छैन । त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ,’ कोभिड–१९ का फोकल पर्सन समेत रहनु भएका श्रेष्ठले भन्नुभयो । अहिले उपत्यकामा दैनिक करीब ३ हजार जति परीक्षण हुन्छ । यो संख्या अपुग भएको र यसलाई अझ बढाउनुपर्ने डा. श्रेष्ठको भनाइ छ । ‘उपत्यकामा २६ हजार या २८ हजार परीक्षण गर्ने गरी अभियान नै चलेको भनिएको छ तर संख्या हामीले तोक्नु हुँदैन,’ डा. श्रेष्ठले भन्नुभयो, ‘कन्ट्याक्ट ट्रेसिङ जतिको हुन्छ त्यतिको परीक्षण हुनुपर्छ । एक दुई लाखको हुन्छ भने पनि सबैको परीक्षण गर्नुपर्यो ।’