जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १५:२९

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतक संख्या २४४ पुग्यो


काठमाडौं, भदौं १७ । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, रुपन्देही र पर्सामा गरी आज थप पाँच जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ५ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ४४ जना पुगेको छ । रुपन्देही बुटवलको प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । कपिलबस्तुकी ६० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यस्तै काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएको हो । दुवै जनाको हिजो बेलुकी मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

यस्तै पर्साको वीरगञ्जमा पनि एक संक्रमितको मृत्यु भएको छ । बाराको सिम्रोनगढका ९७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट गएराति नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । त्यस्तै कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । रामग्रामकी ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको भिम अस्पतालले जनाएको छ ।