जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १७:२६

काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा


काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थपिएको छ । गृह मन्त्री रामबहादुर थापासहित सचिव र मन्त्रायलका पदाधिकारीसँग छलफल गरेपछि उपत्यकाका तीन ओटै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेका हुन् ।

‘निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय भएको छ, तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ,’ निर्णयबारे जानकारी दिँदै एक प्रमुख जिल्ला अधिकारीले जनताटाइम्ससँग भने । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क भने अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । यो ब्यवस्थालाई कायमै राखिएको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले गत भदौ ३ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । संक्रमण कम नभएपछि भदौं १० गते पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन आज मध्यरातिबाट सकिँदैछ ।

आजसम्म पनि कोरोना संक्रमितको संख्यामा कमी नआएपछि उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले गृहका पदाधिकारीसँग छलफल गरी थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन ।