काठमाडौं, भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । सातै प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग आज भएको भर्चुवल बैठकमा मन्त्री ढकालले सो प्रस्तव राख्नुभएको हो ।
उहाँले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास भइ नसकेको कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने मन्त्री ढकालको भनाई थियो । उहाँले कोभिड महामारी कायम रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने जानकारी पनि दिनुभयो । प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका ब्यक्ति भत्ताबाट बिमुख हुन नपर्ने जानकारी उहाँदे दिनुभयो ।
मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार ५ सय जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारण भन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने जानकारी पनि दिनुभयो । उहाँले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताउनुभयो । आइसोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उहाँले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको बताउनुभयो ।
मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिनुभयो । भर्चुवल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहनुभएको थियो ।
प्रेदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहनुभएको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याउनु भएकोले बुधबारको भर्चुवल बैठकमा सहभागी हुनु नभएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।बैठकमा सामाजिक विकासमन्त्रीहरुले कोभिड १९ व्यवस्थानाका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्