काठमाडौं, भदौ १९
स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिहीबार राती तोडफोड भएको छ । आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेकुरिटी गार्ड समेत कुटिएका थिए ।
यसरी घट्यो घटना
रानीवन र ढुंगेधाराका युवाबीच बिहीबार अपरान्ह भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । त्यसपछि घाइते भएका पाँच युवालाई उपचारका लागि मनमोहन अस्पताल ल्याइएको थियो । त्यसपछि कुटने समूहको एक युवा पक्राउ परे । त्यसपछि घटना पुनः दोहोरियो । अस्पतालका निर्देशक डा. धर्म सुवेदीका अनुसार कुट्ने समूहका अन्य ३०÷४० जना युवा आएर घाइतेमाथि पुनः अस्पतालमा नै कुटपिट गरेको हो ।
निर्देशक सुवेदीले भन्नुभयो, ‘दुईवटा समूहबीचको बाहिरै झगडा रहेछ । एउटा समूहको पाँच जना घाइते भएपछि हामीकहाँ उपचारका लागि ल्याइएको थियो । सोही घाइतेलाई कुट्न राती अर्को समूह आयो । आकष्मिक कक्षमा भिडन्त भयो । मेडिकल उपकरण तोडफोड गरियो । उपचारमा सहभागी डाक्टर नर्स तथा अन्य कर्मचारी, सुरक्षा गार्डमाथि समेत आक्रमण भयो ।’
अस्पतालमा राती नौ बजे ३० – ४० जनाको समूह आएर करीब डेढ घण्टा वितण्डा मच्चाएको अस्पतालका सेक्युरिटी इन्चार्ज महेन्द्र पाठकले बताउनुभएको छ । अस्पतालमा रहेका ४–५ जना प्रहरीले समेत घटनालाई नियन्त्रण लिन नसकेपछि थप जनपद र सशस्त्र प्रहरी बल मगाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी आएपछि उनीहरु भागेका थिए । झडप हुँदा आकष्मिक कक्षमा रहेको ईसिजी मेशिन, ड्रेसिड ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु लगायतका थुप्रै सामानमा समेत तोडफोड गरेको थियो ।
अहिले स्वयम्भु प्रहरीले घटनामा संलग्न ३ जनालाई प्रक्राउ गरिसकेको छ । दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि आकस्मिक सेवा सूचारु गरिएको निर्देशक सुवेदीले जानकारी दिनुभयो । उहाँले तोडफोडबाट अस्पतालको करिव १५ लाख बराबरको सामान क्षति भएको पनि सुनाउनुभयो । सिसिटिभीमा देखिए अनुसार युवाहरुले आकष्मिक कक्षमा जे–जे भेटिन्छ, ज–जसलाई भेटिन्छ पिट्न थालेका छन् । आकस्मिक कक्ष एकैछिनमा रक्ताम्यै भएको छ ।
https://www.facebook.com/jantatimes/videos/776853993100360/
प्रतिक्रिया दिनुहोस्