जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १५:४१

उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी, सीमा क्षेत्रमा सेना परिचालन गर्ने


काठमाडौं, भदौ २१

काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दसैँसम्म नै उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिनुभयो । उहाँले तिजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दावी गर्नुभयो ।

दसैँमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उहाँले सहजीकरण गर्दै निषेधाज्ञालाई दसैँसम्म कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिनुभयो ।

समिति बैठकमा उहाँले भन्नुभयो, ‘नाका ठप्प पार्न सकिएको छैन । ठप्प पार्ने हो भने भोकमरी हुन्छ । जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् । अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ। नाकाको जिम्मा नेपाली सेनालाई दिऔं ।’

सेना परिचालनका लागि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) मा प्रस्तावसमेत पठाए पनि कुनै निर्णय नभएको जानकारी दिँदै उहाँले कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने बताउनुभयो ।