काठमाडौं, भदौ २२
पछिल्लो २४ घण्टामा देशभर थप ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ९७९ जनामा संक्रमण देखिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १७३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ । यो ६५ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार १९० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७३९ रहेको छ । आइसियुमा १७१ जना विरामी उपचाररत हुनुहुन्छ त्यसमध्ये २० जना भेन्टिलेटरमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्