काठमाडौं, भदौ २२ । मुलुकभर सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ३ हजार ६ सयभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमा नेपाल प्रहरी सवैभन्दा बढी रहेका छन ।
अहिलेसम्मको तथ्यांकअनुसार नेपाल प्रहरीका २ हजार ३ सय १७ जना, शसीत्र प्रहरीका ७ सय ४२ जना र नेपाली सेनाका ६ सय भन्दा बढीमा कोरोना संक्रमण भएको छ । नेपाल प्रहरीमा उपत्यकामा कार्यरत सुरक्षाकर्मी बढी प्रभावित बनेका छन् । नेपाल प्रहरीका साढे १३ सय संक्रमितमध्ये उपत्यकाका मात्रै ६ सय ६४ जना रहेका छन ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् । यस्तै ९६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६६४ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता कडायतका अनुसार प्रदेश १ मा २१६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १०८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै सशस्त्र प्रहरीमा संक्रमित ७ सय ४२ संक्रमितमध्ये ३ सय ८८ जना संक्रमणमुक्त भइसकेका छन भने ३ सय ५४ उपचाररत रहेका छन् ।
नेपाली सेनामा सहायक रथीसहित ६ सयभन्दा बढी संक्रमित रहेका सेनाले जनाएको छ । संक्रमितमध्ये २ सय ६१ जना संक्रमणमुक्त भइसकेका र अन्यको उपचार भइरहेको सैनिक मुख्यालयले जनाएको छ । तीनओटै सुरक्षा निकायले संक्रमित सबै सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्