जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १४:०७

कारोनाका विरामी काठमाडौंमा मात्रै ६ हजार


काठमाडौं, भदौ २३

काठमाडौं महानगरपालिकाले कारोना भाइरस संक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम शुरु भइसकेको छ । यसबाट संक्रमित पहिचान गर्न ठूलो सहयोग हुन्छ । यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरिसकेको छ । आवश्यकता हेरी थप अरु कर्मचारी पनि भर्ना गरिने प्रमुख कुँवरको भनाइ छ ।

यसअघि स्वास्थ्यकर्मीको पनि समस्या थियो, अब त्यो समस्या केही कम हुन्छ । टोलीले ३२ वटै वडामा यसअघि खटिएको स्वयंसेवक र स्वास्थ्यकर्मीसँग सहकार्य गरी काम गर्नुपर्छ । त्यसैगरी उक्त टोलीले होम क्वारेन्टिन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्नुपर्दछ ।

टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको छ । विभाग प्रमुख कुँवरले कामपामा परीक्षण गर्दा लक्षण नदेखिएका संक्रमितलाई राख्न बालाजुस्थित बाइसधारा पार्कको भवनलाई प्रयोग गर्ने पनि जानकारी दिनुभयो । महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पिसीआर परीक्षण गरिरहेको थियो ।

अब सो सङ्ख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ । अहिलेसम्म काठमाडौंउपत्यकामा मात्रै करिब नौ हजारको सङ्ख्यामा कोरोनाका बिरामी छन् भने काठमाडौं जिल्लामा मात्रै ६ हजार बिरामी भइसकेका छन् । हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो ।