जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १४:१७

मनोसामाजिक समस्या सम्बोधन गर्नेगरी तत्काल योजना बनाई अघि बढ्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आफ्नो सरकारी निवास बालुवाटारमा आज मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारी अनुसार छलफलमा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान हुने बताउनु भयो ।

‘कोभिड–१९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

छलफलमा प्रा.डा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेललगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्री ओलीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गर्नुभएको थियो ।

बिज्ञहरुले यस प्रकारको छलफल आयोजनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत ज्ञापन गर्नुभएको थापाले जनाकारी दिनुभयो ।