डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानाम भन्नुहुन्छ, दोस्रो महामारीको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ
काठमाडौं, भदौ २३ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दोस्रो महामारीका लागि तयारी अवस्थामा रहन चेतावनी जारी गरेको छ । बिश्वभर कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानामले संसारभरका मानिसहरु दोस्रो महामारीका लागि तयारी अवस्थामा रहनका लागि चेतावनी जारी गर्नुभएको हो ।
दोस्रो महामारीपूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उहाँले संसारभरका सबै देशलाई आग्रह पनि गर्नुभएको छ । तयारी नगरेमा दोस्रो महामारीले बिश्वमा कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उहाँको भनाइ छ । कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख भन्दा बढी मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएका छन । सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै डब्लुएचओ प्मुख डा.टड्रोसले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताउनु भयो ।
डब्ल्युएचओको मुख्यालय जेनेभामा सोमवार पत्रकार सम्मेलनमा गर्दै उहाँले कोरोना भाइरसको विश्वव्यापी महामारी नै अन्तिम महामारीका रुपमा बुझ्न नहुने प्रष्ट पार्नुभयो । ‘इतिहासमा कयौँ महामारी आएको हामीले आधार हेरेका छौँ । यो महामारी जीवनको सच्चाइ हो । यो प्रक्रिया समाप्त हुँदैन । यो समाप्त नहुँदै दोस्रो महामारीको खतरा पनि बढेको छ । त्यसैले हामीले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गर्नुपर्छ,’ डब्लुएचओ प्रमुख डा.टड्रोसले भन्नुभयो ।
संसारभरका देशले सम्भावित महामारीको भ्याक्सिन र औषधिमा मिलेर अनुसन्धान गर्न आवश्यक रहेको तथ्य पनि उहाँले औल्इाउनु भयो । ‘सार्वजनिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै लगानी गर्न आवश्यक छ । भ्याक्सिन र औषधिलाई तत्काल उत्पादन गरेर बजार लैजाने व्यवस्था गर्नुपर्छ । कुनै पनि महामारी फैलिँदासाथ हामीले नियन्त्रण गर्न सक्नेगरी तयारी गर्नु वुद्धिमता हुन्छ,’ उहाँले भन्नुभयो । डब्ल्युएचओका विशेषज्ञ माइक रयानले यो वर्षको अन्तिमसम्म कुनै पनि देशको कोरोनाविरुद्धको भ्याक्सिन बजारमा नआउने प्रष्ट पार्नुभयो ।
‘हामीले विश्वास गरेका थियौँ, अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन आउँछ भन्ने । तर, त्यो आशा समाप्त भएको छ । अनुसन्धान भने तिब्र गतिमा भइरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउन नयाँ वर्ष लाग्नुपर्छ । यो वर्षको अन्तिममा भ्याक्सिन बजारमा आउने सम्भावना छैन,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्