काठमाडौं, भदौ २३ । काठमाडौं उपत्यका नगरपालिका फोरमले तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । नागरिकको चर्काे दवावपछि पूर्वनिर्णयमा पुनिर्बिचार गर्दै फोरमले निषेधाज्ञा खुकुलो पारी जोरबिजोर प्रणाली अनुसार यातायातसमेत सञ्चालन गर्न सुझाएको हो ।
यसअघि फोरमले १५ दिन कफ्र्य लगाउनुपर्ने भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीले जारी गरेको निषेधाज्ञामै आपत्ति जनाएको थियो । काठमाडौंमा मंगलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । लकडाउन बढदै जाँदा र निषेधाज्ञाले नागरिकले चुल्होसमेत बाल्न नसक्ने अवस्था भएको भन्दै प्रतिकार हुने अवस्था आएपछि उपत्यका नगरपालिका फोरमले यस्तो सुझाव दिएको हो ।
निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार बैठकले काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसरकारलाई सुझाव दिएको छ । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेको श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बिहिबारबाट उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको छ । फोरमको बैठकले शिक्षक दरबन्दी मिलानका सन्दर्भमा उपत्यकाबाट शिक्षक कटौती गर्न लागेको भन्ने जानकारी आएकाले उक्त कार्य तत्काल स्थगित गर्न र तलब भत्ता नपाएका शिक्षकको तत्काल तलब भत्ता निकासा गर्न माग गरेको छ ।
बैठक उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको थियो । फोरम अध्यक्ष रहनुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य कोरोना संक्रमण भइ घरमै आइसोलेशनमा रहनुभएकोले उपाध्यक्ष महर्जनको अध्यक्षतामा बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस्