जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १५:१५

प्रधानमन्त्रीको निर्देशन : एसिड हान्नेलाई कडा कारबाही गर्न १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्नु


काठमाडौं, भदौ २५

सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कडा कानून ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

१५ दिन भित्रै कानुन मस्यौदा गरिसक्न समय दिइएको उहाँले सुनाउनुभयो । एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको हो। बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुभएको थियो ।

एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीको भनाइ छ। एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निःशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताउनुभएको छ ।