जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार ११:२०

कोरोना भाइरसविरुद्ध चिनियाँ भ्याक्सिनको संसारमै आयो राम्रो नतिजा : परीक्षणमा देखिएन कुनै खरावी


काठमाडौं, भदौ २८ । चिनियाँ कम्पनी चाइना नेसनल बायोटक ग्रुप (सिएनबिजी) ले तयार पारेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन संसारमै सफल देखिएको छ । १ लाख भन्दा धेरै व्यक्तिमा परीक्षण गरिएको यो भ्याक्सिन हालसम्म सफल देखिएको सो कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार सो भ्याक्सिन लगाएका सबैजनामा कुनै पनि प्रकारको साइड इफेक्ट्स देखिएको छैन । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन लगाएकी एक महिला बिरामी भएपछि अहिले उक्त भ्याक्सिनको परीक्षण रोकिएको छ । चिनियाँ कम्पनीले रिकम्बिनेन्ट एडिनोभाइरस भेक्टर भ्याक्सिनमा जोड दिँदै भ्याक्सिन निर्माण गरेका छन् । कम्पनीको डाटा अध्ययन गर्दा अहिलेसम्म १ लाख भन्दा धेरै व्यक्तिले लगाएका र कुनै पनि नराम्रो असर नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन।

चीनले एक पटक कोरोनाविरुद्धको लडाईँमा आफूलाई अब्बल सावित गरेको छ । भ्याक्सिन पूर्णरुपमा सुरक्षित पाइएको छ । चीनको आलोचना गर्ने पश्चिमा देशहरुलाई यो गतिलो जवाफ हो । उनीहरुले हाम्रो देशको भ्याक्सिन विकासमा सुरक्षा र गुणस्तरमा प्रश्न उठाएका थिए, चिनियाँ स्वास्थ्य विशेषज्ञले भ्याक्सिन सुरक्षित देखिएपछि भनेका छन । भ्याक्सिनको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि रहेको चीनले महामारी रोकथाम तथा नियन्त्रणमा पनि संसारमै उदाहरणीय सफलता प्राप्त गरेको थियो ।

सिएनबिजीका सल्लाहकार झोउ सोङ्गका अनुसार चीनले तत्काल प्रयोग गर्नका लागि तीन वटा कोरोनाविरुद्धका भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । त्यसमध्ये सिएनबिजीले विकास गरेको भ्याक्सिन पनि एक हो । यो भ्याक्सिन हाइरिक्स ग्रुप अन्तरगत मेडिकल स्टाफ, राजनीतिक तथा सरकारी कर्मचारीका लागि दिइएको छ । ती भ्याक्सिन लगाएका व्यक्ति विभिन्न देशमा रहेका थिए । विदेशमै पठाएर भ्याक्सिन लगाइएको थियो ।

चिनियाँ क्यानसिनो बायोलोजिक्सका प्रमुख वैज्ञानिकले मानिसको सुरक्षालाई विशेष जोड दिएर भ्याक्सिनको परीक्षण गरिरहेको बताएका छन् । ग्लोबल टाइम्सले वुहान विश्वविद्यालयका प्याथोजन बायोलोजी विभागका याङ्ग झाङ क्यूको भनाई उधृत गर्दै पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षण सफल भएजस्तै तेस्रो चरण पनि सफल हुने बताएको छ । अहिलेसम्मको परीक्षणले आफूहरु उत्साहित भएको क्यूको भनाइ छ ।