जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार ०९:५९

डिभी लोटरीमा सहभागी भए ६ लाख ८८ हजार नेपाली


काठमाडौं, भदौ ३१ । पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपाली सहभागी भएको पाइएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाए अनुसार डिभी लोटरीका लागि प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका छन ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन २०२१ को डिभी कार्यक्रममा सहभागी भएका हुन । उनीहरुले गत बर्षको अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । यसको नतिजा गत जुन ६ मा आइसकेको छ । ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८ सय १ जना नेपालीहरु मात्रै छनौट भएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण उनीहरुले आगामी जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन ।

पासपोर्ट अनिवार्य गरिएका कारण सन् २०२० को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्याको तुलनामा २०२१ को डिभी लोटरीका लागि आवेदन दिने नेपालीहरुको संख्या भने कम भएको छ । सन् २०२० को डिभी लोटरीमा १० लाख २६ हजार ४२३ नेपाली सहभागी रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु३ लाख ८८ हजार ७ सय २७ रहेका थिए ।

सन् २०१९ का लागि डिभी लोटरी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।