जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १७:५८

काठमाडौं-चितवन-मोरङ र कास्कीमा कोरोनाको उच्च जोखिम, ५० मध्ये चार जिल्लाकै आधा बढी संक्रमित (सूचीसहित)


काठमाडौं, असोज २ । गएको २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार संघीय राजधानी काठमाडौंमा ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंसहित सातै प्रदेशका ५० जिल्लामा २ हजार २० जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ६ सय ९८ जना छन भने भक्तपुर र ललितपुरसहित उपत्यकामा ८ सय ५९ जना संक्रमित थपिएका छन । कोरोना संक्रमणमा पछिल्लो २४ घण्टामा काठमाडौपछि चितवन देखिएको छ ।

चितवनमा १ सय ९१ जनाका कोरोना पुष्टि भएको हो । चितवनपछि प्रदेश नम्बर १ को मोरङ र कर्णाली प्रदेशको सुर्खेत परेको छ । मोरङमा ११८ र सुर्खेतमा ११७ जना कोरोना संक्रमित थपिएका छन । यस्तै कास्की ८६, रुपन्देही ८६ भक्तपुर ८२ र ललितपुर ७९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार पछिल्लो समय कोरोनको केन्द्र बागमती प्रदेश बन्दै गएको छ । बागमतीका उपत्यकाका तीन जिल्लाका साथै चितवन र मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको हो । पछिल्लो समय बढी जनसंख्या रहेको गण्डकी प्रदेशको सदरमुकाम कास्की र प्रदेश १ को मोरङमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । गण्डकी प्रदेशमा कास्कीपछि दोस्रोमा नवलपरासी पूर्व रहेको छ ।

सो जिल्लामा २४ घण्टामा ३९ जना संक्रमित थपिएका छन । यस्तै प्रदेश ५ मा रुपन्देही सवैभन्दा अगाडि रहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश ५ मा रुपन्देहीपछि नवलपरासी जिल्ला बढी संक्रमितको सूचीमा रहेको छ । नवलपरासीमा पछिल्लो २४ घण्टामा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।