काठमाडौं, असोज ३
वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गरिने भएको छ ।
रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा रुइतलाई सबैभन्दा ठुलो मानपदवी प्रदान गरिएको हो । उहालाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गरिनेछ ।
त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।
को हुन् सन्दुक रुइत ?
ताप्लेजुङको अन्तिम हिमाली गाउँ ओलाङचुङगोलाको सीमाना चीनसँग जोडिएको छ। ओलाङचुङगोलाबाट जिल्ला सदरमुकाम आउन ५–६ दिन लाग्छ। भौगोलिक रुपमा विकट, तमोरको शिरमा रुइतको जन्म सन् १९५४ को सेप्टेम्बर ४ तारिखका दिन भएको हो । सन्दुकका बुवा सोनाम रुइत र आमा केसाङ रुइत हुन् । उनकी श्रीमती नन्दा रुइत हुन् ।
कखरा एक जना भन्सार कर्मचारीसँग सिकेका डा. रुइतको पढाई उनको गाउँबाट हिँडेर जाँदा १५ दिन लाग्ने भारतको दार्जीलिङबाट अघि बढ्यो । डा. रुइतका बुवा सोनामले दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कूलमा उनको भर्ना गरिदिए । सन् १९६२ मा चीन र भारतबीच युद्ध हुँदा दार्जीलिङमा सञ्चालित स्कुलहरु बन्द हुन पुगे ।
स्थिति तनावपूर्ण भएपछि रुइतलाई काठमाडौं ल्याइयो । बुवाले अहिलेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा भर्ना गरिदिनुभयो, त्यति बेला वनस्थली स्कुल मात्रै भनिन्थ्यो ।
प्रतिभावान रुइतले कक्षा ८ पढेनन् । उनी ७ बाट सिधैं ९ कक्षामा भर्ना भएका हुन् । र, उनले सन् १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रमथ श्रेणीमै प्रवेशिका परिक्षा एसएलसी पास गरेका हुन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषय राखेर प्रविणता प्रमाणपत्र तह (आइएस्सी) पूरा गरे । आइएस्सी सकेपछि कोलम्बो प्लानअन्तरगतको छात्रवृत्तिमा एमबिबिएस पढ्न भारत गए ।
‘त्यसपछिको पढाई लखनऊस्थित किङ जर्ज मेडिकल कलेजबाट अघि बढ्यो । एमबिबिएस पास गरेपछि पनि उनी त्यहाँ अल्मलिएनन् । नेपाल फर्किए । र, वीर अस्पतालमा जनरल फिजिसियन’को जिम्मेवारीमा सेवा सुरु गरे ।
उनको पढाईको भोक नमेटिएपछि केही वर्षपछि फेरि, भारत गए। अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा एमडी पढ्न सुरु गरे । सन् १९८० देखि सन् १९८४ सम्म एमडी गरेपछि उनी नेपाल आए । र, त्रिपुरेश्वर आँखा अस्पतालमा सेवा सुरु गरेका हुन् ।
त्यसपछि काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइत लाखौं सर्वसाधारणका आँखाका नानी बनिसकेका छन् । अध्यारो जीवन बाँचिरहेका कयौंका लागि रुइत ज्योति दिने भगवान हुन् । नेत्रचिकित्सक डा. रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरे ।
रुइत यति चर्चित छन् कि, नेत्र चिकित्सासम्बन्धी कुनै पनि मञ्चमा उनको नाम नआएको हुँदैन । विश्वप्रसिद्ध प्रणालीको विकास गरेर उनले लाखौंलाई मोतिबिन्दुको समस्याबाट मुक्त गराइसकेका छन् ।













प्रतिक्रिया दिनुहोस्