जनता टाइम्स

५ आश्विन २०७७, सोमबार ०९:२२

नीजि बिद्यालयका अभिभावकले गुहारे राष्ट्रपति


काठमाडौं, असोज ५ । अभिभावकलाई चरम मानसिक यातना दिँदै निजीले विद्यालयले चरम शुल्क असुली गरिरहेको तथ्य बाहिर आएको छ । सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउने नीजि बिद्यालयले अनलाइन माध्यमबाट दुई तीन घण्टा पनि नपढाई अभिभावकसँग मासिक शुल्क पूरै असुलिरहेका हुन ।

केही बिद्यालयले त भनेजति शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनीसमेत दिएको पाइएको छ । निीजि बिद्यालयको असुली धन्दा बढेपनि कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर जस्तै छन्। आफूहरुको गुनासो सम्बोधन नभएपछि बालुवाटारस्थित एक विद्यालयका अभिभावकले राष्ट्रपति गुहारेका छन्।

उनीहरूले सुरुमा मन्त्रालय, काठमाडौं महानगरपालिका, अभिभावक महासंघ, प्रहरीलगायत सात निकायमा उजुरी दिएका थिए। तर सुनुवाई नभएपछि राष्ट्रपति गुहारेका हुन । बालुवाटारस्थित बिद्यालय मात्रै होइन, ललितपुर धापाखेलस्थित एक विद्यालयले पनि चर्काे शुल्क असुली गरेको छ । अनलाइनबाट दुई घण्टा मात्रै पढाउँदा पनि सो बिद्यालयले मासिक १४ हजार मागिरहेको अभिभावकको भनाई छ।

मन्त्रालयले अनलाइनबाट पढाएबापत शुल्क लिन पाउने निर्णय हालै गरेको छ। यस्तो शुल्क स्थानीय सरकारको सहमतिमा मात्रै लिन पाउने व्यवस्था गरिएको छ। अधिकांश विद्यालयले शुल्क उठाएकोबारे स्थानीय सरकारलाई जानकारी गराएका छैनन्। त्यसअनुसार स्थानीय तहको स्वीकृतिपछि तत्काल अनलाइन कक्षाबापतको मात्र शुल्क लिनुपर्ने हो। त्यसमा पनि सामान्य अवस्थाका लागि तोकिएको शुल्कमा न्यूनतम ४० वा ५० प्रतिशतसम्म छुट दिनुपर्छ। भर्ना तथा वार्षिक शीर्षकमा शुल्क लिन पाइँदैन। तर, कुन विद्यालयले कति शुल्क लिएका छन् भनेर महानगरपालिकाले अनुगमन गरेको छैन।