जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १२:२५

एकसातामा देशभरी भेटिएका संक्रमित मध्ये ५३ प्रतिशत काठमाडौं उपत्यकाका


काठमाडौं, असोज १०

कोभिड–१९ का संक्रमितमध्ये आधाभन्दा बढि उपत्यकामा भेटिन थालेका छन् । देशकै सबैभन्दा बढि जनघनत्व रहेको काठमाडौं उपत्यकामा आधा संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत चिन्ता व्यक्त गरेको छ । काठमाडौंमा देखिएको संक्रमण चाडवाड आएसँगै देशभर नै फेरी फैलिन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला एक सातामा देशभरी भेटिएका कुल संक्रमितमध्ये ५३.१८ प्रतिशत मात्रै उपत्यकाका तीन जिल्लाका रहेका छन् । ३ असोजदेखि ९ गतेसम्म भेटिएका ९ हजार ९३ संक्रमितमध्ये उपत्यकामा मात्रै ४ हजार ८३६ जना रहेका छन् । जसमध्ये काठमाडौंका ३ हजार ८२५, ललितपुरका ४९३ र भक्तपुरमा ५१८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो पटक लगाइएको निषेधाज्ञा हटाएसँगै उपत्यकामा संक्रमितको संख्या बढि देखिन थालेको छ ।

शुक्रबार उपत्यकामा ६४५ जना संक्रमित भेटिएका थिए । यस्तै, विहिवार पनि उपत्यकामा ७५५ जनामा संक्रमण देखिएको थियो । हाल सक्रिय संक्रमित रहेकामध्ये काठमाडौंमा ७ हजार ४६१, ललितपुरमा ८१० र भक्तपुरमा ८८८ जना रहेका छन् । देशभर कुल सक्रिय संक्रमित १८ हजार २८९ जना मध्ये ९ हजार १५९ उपत्यकामै रहेका हुन् । शुक्रबारको तथ्यांकसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले संक्रमण बढ्नुको प्रमुख कारण जनस्वास्थ्यको मापदण्ड पुरा नगर्नु नै रहेको बताउनु हुन्छ । जनजिवन र आर्थिक गतिविधि सहज बनाउन निषेधाज्ञा खोलेसँगै मानिसमा लापरवाही बढ्नु नै मुख्य कारण भएको उहाको भनाई छ । ‘निषेधाज्ञा हटाएको केही दिनमै काठमाडौंमा संक्रमण तिव्र रुपमा फैलिएको छ । संक्रमित संख्यामध्ये करिव ५० प्रतिशत काठमाडौं उपत्यकामै भएको पाइएको छ’, उहाले भन्नुभयो, ‘काठमाडौं उपत्यकाजस्ता घना बस्तीमा मानिसहरुबीच दुरी कायम गर्न चुनौति हुन्छ । जहा भिडभाड हुन्छ त्यहा संक्रमण फैलिनेदर झनै हुन्छ ।’

स्वास्थ्य मन्त्रालयले चाडवाड नजिकिदै गरेकाले संक्रमण दर झनै बढ्न सक्ने चेतावनी पनि दिएको छ । काठमाडौंबाट गाउँगाउँ जाँदा संक्रमण लिएर पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि सबैसँग अपिल गरेको छ ।