जनता टाइम्स

११ आश्विन २०७७, आईतवार ०९:२८

पर्यटनमन्त्री योगेश भट्टराईको बिश्वास नेपालको पर्यटन क्षेत्रले फेरि गुणात्मक फड्को मार्नेछ


काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका काम गरिरहेको जानकारी दिनुभएको छ ।

४१ औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको र आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्द्धन र विकाससम्बन्धी योजना र कार्यक्रमहरूलाई उच्च महत्वका साथ कार्यान्वयन गरिने प्रतिवद्धता पनि जनाउनु भएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन भएको उल्लेख गर्दै उहाँले संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवद्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । ‘नेपालमा अवस्थित सर्वोच्च शिखर सगरमाथा सहितका हिमश्रृङखला, छोटो भौगोलिक दूरीभित्र रहेका विविधतापूर्ण भूगोल, कला र संस्कृतिको विशिष्टता र विविधताका साथै विश्वशान्तिको उद्गमस्थल अर्थात गौतम बुद्धको जन्मस्थान लुम्बिनीजस्ता अनुपम सम्पदाहरूका कारण नेपाल विश्वमाझ पर्यटनको आकर्षक गन्तव्य रहेको छ,’ मन्त्री भट्टराईको शुभकामना सन्देशमा भनिएको छ ,‘सरकारले यस क्षेत्रलाई प्राथमिकताका साथ आर्थिक(सामाजिक विकासमा योगदान पुयाउने क्षेत्रका रूपमा लिएको छ। ’

पर्यटन मन्त्रालयले संघीयताको मर्म र सहकार्यबाट हुने फाइदालाई आत्मसात गर्दै तीनै तहका सरकार र अन्तर मन्त्रालय सहकार्यमा नेपालको पर्यटनको विकास र प्रवद्धन गर्ने ढाँचा अवलम्बन गरी निजी क्षेत्रसँगको निकट सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँको भनाई छ। ‘सन् २०२० को सुरुवातसँगै विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीबाट नेपालसमेत गम्भीर रूपमा प्रभावित भएको छ। व्यक्तिगत एवं सामूहिक गतिशीलतामा पर्यटन निर्भर हुने भएको र देशमा २०७६ चैत ११ गतेदेखि समय समयको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले गर्दा यस क्षेत्रका व्यवसाय तथा सेवाहरूमा उच्च क्षति पुगेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैँ निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउनेछ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्नेछ र हामा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरू हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ।’

उहाँले नेपालको पर्यटन क्षेत्रमा अनुसन्धान एवं तथ्यपरक ढंगले योजना कार्यान्वयन गर्ने, गुणस्तर अभिवृद्धि गर्ने र स्थानीय समुदायसम्मले लाभ लिने गरी रोजगारी र वैदेशिक मुद्रा आम्दानीको दिगो स्रोतका रूपमा पर्यटन गतिविधिहरूको विस्तार गर्न उपयुक्त हुने धारणा पनि राख्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड १९ को महाव्याधिमाथि विजय हासिल भई पर्यटनसँगै सबै आर्थिक सामाजिक क्रियाकलापहरू सहज र थप गुणात्मक ढंगले सञ्चालन गर्ने सामर्थ्य हासिल हुनेछ र आगामी समय पर्यटन क्षेत्रका लागि अनुकूल बन्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’