जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार १८:०१

बैज्ञानिक परीक्षणको निश्कर्ष : आमाको दूधले मार्छ कोरोना भाइरस


काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताहरुले आमाको दूधले कोरोना भाइरस समाप्त गरिदिने निष्कर्ष निकालेका छन् । लामो अनुसन्धान र परीक्षणपछि चिनियिाँ बैज्ञानिकहरुले यस्तो निश्कर्ष निकालेको चिनियाँ अखवार साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

यसअघि केही वैज्ञानिकहरुले ब्रेष्टफिडिङबाट कोरोना भाइरस फैलिन सक्ने चेतावनी दिएका थिए । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना पोजेटिभ भएकी आमाले आफ्नो बच्चालाई दूध खुवाउनु पर्नेमा जोड दिएको थियो । यही बहशबीच बेइजिङका अनुसन्धानकर्ताले ह्युमन सेल र जनावरको सेलमा आमाको दूधको परीक्षण गर्दा दूधले भाइरस समाप्त गरेको तथ्य फेलापरेको हो ।

चिनियाँ बैज्ञानिकहरुले विभिन्न प्रकारका सेल्समा गरिएको परीक्षणपछि आमाको दूधबाट कोरोना भाइरस मरेको पाइएको हो । सो पत्रिकाका अनुसार बेइजिङ विश्वविद्यालयका प्रोफेसर टोङ्ग यीगङ्गले आमाको दूधले भाइरसलाई ब्लक गर्न मद्दत गर्ने बताउनु भएको छ । डब्ल्युएचओले विभिन्न ४६ देशका आमाहरुमा गरेको अध्ययनमा दूधमा कोरोना जिन पाइएको थियो । तर, अध्ययनका क्रममा जम्मा एक जनामा कोरोना संक्रमण भएको थियो । ती बालकमा पनि कोरोना संक्रमण अन्य स्रोतबाट भएको हुनसक्ने अनुमान गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरीमा वुहानमा कोरोना संक्रमित आमालाई आफ्ना बच्चालाई दूध खुवाउन रोकिएको थियो । अमेरिकाको प्रमुख स्वास्थ्य निकाय सिडिसीले पनि कोरोना संक्रमित हुनसक्ने भन्दै नवजात शिशुलाई कोरोना संक्रमित आमाको दूध नखुवाउन आग्रह गरेको थियो । तर हालै चिनियाँ वैज्ञानिकले गरेको अध्ययनमा आमाको दूधले कोरोना भाइरस मर्ने गरेको तथ्य बाहिर ल्याएको हो ।