जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १३:०५

स्वास्थ्यकर्मीको सम्मानमा वरिष्ठ डा. भोला रिजालको ‘सलाम छ स्वास्थ्यकर्मी’ गीत (भिडियोसहित)


काठमाडौं, असोज १६

बरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । कोरोना भाइरस कोभिड–१९ को सिकार बन्नुभएका उहाँले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा यस गीत सार्वजनिक गर्नुभएको हो ।

‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो बेला सबैलाई सम्मान र हौसलाको आवश्यक पर्छ ।’ त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुँ’ उहाँले भन्नुभयो ।

शिव परियार, मेलिना राई, नारायण ओलीको स्वर रहेको गीतमा दीपकराज गिरी, दिपा श्री निरौँला, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्व प्रधानसेनापती रुकमागत कटुवाल, वैज्ञानिक महाविर पुन, पूर्व डीआईजी रमेश खरेल र डा. रिजाल आफैको अभिनय छ ।

सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । यसअघि मंगलबार एक जना सीअहेव र बिहीबार एक जना चिकित्सकले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसक्नुभएको छ ।